बैशाख २४, २०८१, सोमबार
               

तलव नपाएपछि स्वास्थ्य एकाइ बन्द, बिरामी समस्यामा

रासस
फागुन ०५, २०७६

ADVERTISEMENT

हुम्लाको सिमकोट गाउँपालिका– १ र २ अन्तर्गत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइ छ महिनादेखि बन्द रहेको छ । 

साविक ताक्ला, बाम्टा, ठेहे, बैजिबाडा, दोजामलगायत बासिन्दाले देउसीभैलो खेलेर जम्मा गरेको रु एक लाखले जग्गा खरिद गरी भवन बनाएका थिए ।  

२०७२  सालमा सो एकाइ सञ्चालनमा आएको थियो । 

स्थानीय पर्वल बोहराले कुम्लिक ज्युला ताक्ला, बाम्टा, बैजिबाडा, दोजाम, कुम्लिक, ठेहे गाउँका करिव ९०० स्थानीयको पाएक पर्ने ठाउँमा स्वास्थ्य एकाइ खोलिएको र अहिले उपचार गर्न नपाउँदा जिल्ला अस्पतालमा पुग्नुपर्ने बाध्यता रहेको बताए । 

एकाइमा एक÷एक जना अहेव, अनमी र कार्यालय सहयोगी गरी तीनको दरबन्दी रहेको छ । 

गाउँमा रुघाखोकीका बिरामीको सङ्ख्या बढिरहेको छ । स्वास्थ्यकर्मी नहुँदा समस्यामा परेका छन् । 

एकाइमा दैनिक १०÷१२ सम्म बिरामी उपचारमा जाने गर्दथे । स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका गोरख भण्डारीले बताए । 

घाँटी, टाउको दुख्ने र ज्वरो आएको एक हप्ता भइसक्यो स्वास्थ्य एकाइमा जाँदा ताला लगाएको देख्दा रित्तो हात लिएर घर फर्कनुपरेको बिरामी जोरसिंह बोहराले गुनासो गरे  । 

६ महिनादेखि तलब नपाएपछि

एकाइमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब खान नपाएपछि स्वास्थ्य एकाइ बन्द भएको प्रमुख धनजित भण्डारीले जानकारी दिए।

उनका अनुसार  सिमकोट गाउँपालिकाले स्वास्थ्यकर्मीलाई नै तलब खुवाउने गरेको थियो । 

सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले स्वास्थ्य सेवाविभागबाट रकम नआएकाले गाउँपालिकाले तलब खुवाउन सक्ने अवस्था नरहेको जानकारी दिए  । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि