जेठ ०७, २०८१, सोमबार
               

गण्डकी प्रदेशको दुई वर्ष पूरा, मुख्यमन्त्रीको यस्तो सन्देश

रासस
फागुन ०४, २०७६

ADVERTISEMENT

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताएका छन् ।

प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै  उनले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माणको रुपमा लिइएको र यसको जगको आधारमा सबल र समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने उल्लेख गरे । 

सङ्घीयता कार्यान्वयनका क्रममा आत्मविश्वास र ऊर्जा बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा भनेका छन्, “हाम्रा पाइलाहरु गतिवान हुँदैछन् र हाम्रा अनुभवहरु खारिँदै गइरहेका छन् । प्रदेशको सफलतासँगै सङ्घीय शासन व्यवस्थाको सफलता गाँसिएको छ ।”

सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रको आधारभूत मूल्य मान्यता, बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमा प्रदेश सरकार दृढ रहेको बताएका छन् ।

विभिन्न क्षेत्र समुदाय र वर्गको सुझाव, सल्लाहलाई आत्मसात् गर्दै समृद्ध प्रदेश सुखी नागरिकको आकाङ्क्षा सफल पार्न सरकार तत्पर रहेको मुख्यमन्त्री गुरुङले सन्देशमा उल्लेख गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि