जेठ ०७, २०८१, सोमबार
               

बेलायतका सेनाध्यक्ष नेपालको साताव्यापी भ्रमणमा

रासस
फागुन ०३, २०७६

ADVERTISEMENT

बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ नेपालको साताव्यापी भ्रमणमा आज यहाँ आइपुगेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत अभिवादन गरेका थिए । 

नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि उहाँले भेटवार्ता गर्ने बताइएको छ । बेलायती सेनाध्यक्ष स्मिथले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको अवलोकन तथा  हवाईजहाजबाट नेपालका हिमालहरुको दृश्यावलोकन गर्ने बताइएको छ ।

नेपाली सेनाका अधिकृतलाई बेलायतले हरेक वर्ष विभिन्न प्रकारका सैनिक तालीम उपलब्ध गराइरहेको छ । हालसम्म ठूलो सङ्ख्यामा नेपाली सेनाका सकल दर्जाले यस प्रकारका तालीम प्राप्त गरिसकेका छन् । विश्व शान्ति स्थापना कार्यमा नेपाली सेना र बेलायती सेनाले कतिपय स्थानमा एक साथ मिलेर काम गर्दै आएका छन् । 
 
यसैबीच दुई देशबीच सन् १८१६ देखि गोर्खा सैनिक भर्ना सम्बन्धमा सम्झौता भएको थियो । बेलायतले गोर्खा सैनिकको योगदानको कदर गर्दै सम्मानस्वरुप त्यहाँको रक्षा मन्त्रालय परिसरमा गोर्खा सैनिकको शालिक स्थापना गरेको छ । बेलायती सैनिकलाई प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण पदक भिक्टोरिया क्रस पदक १३ जना गोर्खा सैनिकले प्राप्त गर्न सफल भएको इतिहास छ । सैनिक सहयोगमार्फत नेपालले बेलायतलाई ठूलो गुण लगाएको छ । 

हाल तीन हजार ५०० को सङ्ख्यामा नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा कार्यरत छन् । बेलायतले कम्तीमा वार्षिक रुपमा १५० देखि आवश्यकताअनुसार ४५० जनासम्म नेपाली युवालाई सेनामा भर्ना गर्दै आएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि