जेठ ०७, २०८१, सोमबार
               

प्रणय दिवस : प्रेम साट्न रानीमहलमा

रासस
फागुन ०२, २०७६

ADVERTISEMENT

पाल्पा । आज प्रणय दिवस, युवायुवतीले विशेष दिनका रुपमा लिने गर्दछन् । पश्चिमा संस्कृतिका रूपमा लिइएको यो दिवस पछिल्लो समय नेपालमा पनि विशेष उत्सवकै रुपमा लिने गरिएको छ । प्रणय दिवसमा गुलाबको फूल तथा अन्य विभिन्न उपहार दिएर आफूलाई मन पर्ने अर्थात् माया गर्ने मान्छेलाई खुशी पार्ने र रमाइला ठाउँहरु घुम्ने चलन छ । 

प्रेमभाव व्यक्त गर्न विभिन्न एकान्त ठाउँमा युवायुवतीका जोडी देख्ने गरिन्छ । जोडीहरु प्रेमको प्रतीकका रूपमा लिइने पाल्पाको ऐतिहासिक रानीमहल पुग्ने पनि प्रशस्तै भेटिने गरेका छन् । प्रणय दिवसका अवसरमा सयौँ जोडी पाल्पा आउने गर्दछन् । रानीमहलसँगै यहाँका श्रीनगरडाँडा, रामचेडाँडा, तालपोखरा, शिद्धबाबा क्षेत्र भुजातलगायतका अन्य स्थलमा पनि प्रेम साटासाट गर्ने जोडी देख्न सकिन्छ ।

नेपालको ताजमहलका रूपमा परिचित रानीमहल विश्वमा नै चिनारी बनाए पनि यसको व्यवस्थापन मोटरबाटो, त्यस क्षेत्रमा होटल व्यवसायलगायतका विकास त्यति नभएको त्यहाँ पुग्ने पर्यटकको गुनासो सुन्न सकिन्छ । दैनिक हजारौँ पर्यटन आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजा नास्ताको समेत प्रबन्ध गरेर दरबार प्रवेश र अवलोकनका लागि शुल्क लिनेसमेत व्यवस्था गर्न सके यहाँ आउने पर्यटनको सङ्ख्यामा समेत वृद्धि गर्न सकिने उद्योग वाणिज्य सङ्घ रामपुरका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाले बताए ।

 आन्तरिक पर्यटन प्रवद्र्धनका लागि भएको अध्ययन अवलोकन तथा योजना निर्माण कार्यक्रममा रानीमहल क्षेत्रको विकास गर्न सके लुम्बिनी आएका पर्यटकलाई रानीमहल हेरेर पोखरासम्म पुग्ने वातावरण सिर्जना गर्नुपर्ने उद्योगी व्यवसायीको धारणा छ । कालीनदी किनारमा रहेको सुन्दर रानीमहल तत्कालीन राजा खड्गशम्शेरले तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गरेका थिए ।

धीरशम्शेरका १७ भाइ छोरामध्येका एक भाइ वीरशम्शेर प्रधानमन्त्री भएको समयमा उनका भाइ खड्गशम्शेर कमाण्डर इन चिफ भएको १८ महिनापछि पदमुक्त पाल्पामा निर्वासित भएका थिए । विसं १९४५ मा उहाँलाई रुपन्देही, कपिलवस्तु, वागलुङ, पर्वतलगायतका क्षेत्रको जिम्मेवारीका साथ पाल्पा गौँडामा पश्चिम कमाण्डरको जिम्मेवारी दिइएको थियो ।

तत्कालीन गौडाका राजा खड्कशम्शेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा बनाएको रानीमहलमा पुगेर बाचाकमस खानेको चहलपहल हुने गर्दछ । सन् १९४५ मा आफ्नी श्रीमतीको निधनमा भावविह्वल भएका खड्गशम्शेरले श्रीमतीको स्मृतिमा भारतको आग्रामा रहेको ताजमहलजस्तै बगैँचासहितको दरबार निर्माण गर्ने अन्तिम बचन दिएका थिए ।

श्रीमतीको सम्झनामा भारतमा रहेका इञ्जिनीयर झिकाएर पाँच वर्ष लगाएर दरबार निर्माणकार्य विसं १९५४ मा पूरा गरिएको उल्लेख छ । सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तर कालीनदी किनारमा २४ कोठा भएको दरबारमा दुई पोखरी, मन्दिर, बगैँचा, पाटी, घोडा तबेला साथै भक्तिनी बस्ने स्थानसमेत देख्न सकिन्छ । खड्गशम्शेर पाल्पाबाट पलायनपछि संरक्षण अभावमा दरबारका कयाै‌ँ बहुमूल्य सामान सड्ने, हराउने, बिग्रने, चोरी हुने र दरबार भग्नावशेषजस्तै भएको बेला केही मर्मतसम्भार भए पनि यसको संरक्षण र विकासको पहल भएको देखिँदैन । 

पुरातत्व विभागले विसं २०६५ मा दरबारका मुख्य भागको मर्मत गरे पनि निरन्तर संरक्षणको अभावले पुरानै अवस्थामा पुग्न थालेको छ । विसं २०६८ मा जिल्ला विकास समिति, भूसंरक्षण कार्यालयलगायतका निकाय र नेपालीको सहयोगमा दरबारको अगाडिपट्टि तटबन्ध, बगैँचा निर्माण, गरेको थियो भने पटक–पटक गोरखदल गणले सरसफाइका काम गर्दै आएको छ । विसं २०६७ मा पर्यटन कार्यालय भैरहवाको आर्थिक सहयोगमा दरबारको माथिल्लो भाग पूर्णरूपमा मर्मत गरी रेखदेखको काम भएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि