जेठ ०७, २०८१, सोमबार
               

सवारी चालक अनुमति लिन अब १८ वर्ष पुग्नुपर्ने

रासस
माघ २७, २०७६

ADVERTISEMENT

दुर्घटनाको जोखिमलाई न्युनीकरण गर्ने योजनासहित सरकारले सवारी चालकले अनुमतिपत्र (लाइसेन्स) लिन पाउने उमेर हद बढाउने भएको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र हासिल गर्नका लागि न्यूनतम उमेर १८ वर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर भए पुग्ने व्यवस्था छ । 

विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएका छन् । 

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनले देखाएको छ । त्यसैले पनि निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर हद बढाउन लागिएको हो । सो विधेयकमाथि अहिले मन्त्रालयले विभिन्न पक्षसँग छलफल गरिरहेको छ । उनले भने, “मन्त्रालयमा छलफल सकिएपछि मन्त्रिपरिषद् हुँदै संसद्सम्म पुग्नेछ ।”

चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागका महानिर्देशक हमालले जानकारी दिए । टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइसकेको छैन । सकेसम्म टुटल पठाओलाई कानूनीरुपमा नै नियमनमा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको छ । 

सङ्घीय सवारी तथा यातायात व्यवस्था ऐन अघि नबने पनि प्रदेशहरूले ऐन बनाइरहेका छन् । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशले सङ्घीय ऐनभन्दा पहिले नै नयाँ संविधान अनुसार ऐन बनाइसकेका छन् । बाग्मती प्रदेशले यातायात व्यवस्थासम्बन्धी नियमावली बनाउने तयारी गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि