बैशाख १४, २०८१, शुक्रबार
               

कतारमा अलपत्र परेका चार नेपालीको उद्धार

नेपाल फ्ल्यास
भदौ २६, २०७८

ADVERTISEMENT

बागलुङ । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली संघ, कतारको पहलमा उद्धार गरिएको छ ।

कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहेका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौंकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई संघले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो ।

संघका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार बिहान ९ः०० बजे काठमाडौं आइपुगेका हुन् । लामा र पौडेल भने यही भदौ १ गते नेपाल फर्किएका थिए । ‘कानूनी प्रबन्ध दूतावासले मिलाउने गर्छ, संघले हवाई टिकट व्यवस्थापन गरेर उहाँलाई घर पठाएको हो’, प्रवक्ता क्षेत्रीले टेलिफोनमा भने ।

६ महिनाअघि कतार जानुभएका शाहीले आफू स्वास्थ्यका कारण काम छाडेर नेपाल फर्कनुपरेको बताउनुभयो । “सुरुका दुई महिना काम गरेँ, त्यसपछि बिरामी परेँ’, उनले भने, ‘कम्पनीले पठाउन नमानेपछि दूतावास र एनआरएनएको सहयोगमा नेपाल आएँ ।’ संकटमा सघाएर ‘एनआरएन’ले नबिर्सने गुन लगाएको उनको भनाइ छ । काठमाडौं ओर्लेपछि आफू जन्मघर बाजुरा हिँडेको शाहीले सुनाए । 

कोभिड–१९ महामारी फैलिएयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको संघले जनाएको छ । नेपाली दूतावाससँगको समन्वयमा उद्धार कार्य हुने गरेको प्रवक्ता क्षेत्रीले बताए । महामारीका बेला विदेशमा रोजगारी गुमाउने नेपाली श्रमिकको सङ्ख्या ठूलो छ ।

संघको राष्ट्रिय समन्वय परिषद् कतारले उद्धार समिति नै बनाएर त्यहाँ रहेका श्रमिक नेपालीको दुःखमा साथ दिँदै आएको छ । ‘समस्यामा परेका जो–कोही नेपालीलाई संघले सहयोग गर्छ’, प्रवक्ता क्षेत्रीले भने, ‘जस्तोसुकै अप्ठ्यारो पर्दा सङ्घमा खबर गर्नुस् भनेका छौँ ।’ 


कस्तो लाग्यो ?

यो पनि