बैशाख ०७, २०८१, शुक्रबार
               

हङकङवासी नेपालीको माग- नेपालमा रोकिएका आफन्तलाई हङकङ प्रवेशको व्यवस्था मिलाऊ

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

नेपाल आएर फर्किन नपाएका हङकङवासी नेपालीहरूलाई तत्काल कर्मभूमि फिर्ताको व्यवस्था मिलाउन माग गरिएको छ ।

नेपालमा अड्किएर बसेका परिवारका सदस्यहरूले हङकङस्थित महावाणिज्य दूतावासमा गएर आज ज्ञापन पत्र बुझाएका हुन् । महावाणिज्यदूत उदय रानामगरलाई पत्र बुझाउने उनीहरूले आफ्नो परिवार दुइतिर बाँडिएर बस्नुपर्दाको समस्या र यथार्थ अवगत गराएका हुन् । 

उनीहरूले पारिवारिक शोक तथा सामाजिक संस्कारलगायत विभिन्न कामले नेपाल गएर लकडाउन/निषेधाज्ञाका कारण आफ्नो परिवारका महत्त्वपूर्ण सदस्य नेपालमै रोकिँदा आर्थिक एवं मनोवैज्ञानिक समस्या परेको जनाएका हुन् ।

नेपालमा चार सय जनाको हाराहारीमा अड्किएको र त्यहाँ अड्किएपछि रोजगारी एवं आर्थिक रूपमा नोक्सानी भएको ज्ञापनपत्रमा उल्लेख छ । उनीहरूले महावाणिज्य दूतावासलाई जतिसक्दो चाँडो आफ्ना परिवारका सदस्यलाई हङकङ फर्कने व्यवस्थाका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन् । 

त्यसक्रममा फिलिपिन्स र इन्डोनेसियामा पनि यस्तै समस्या आएको तर उनीहरूले कूटनीतिक पहल गरेपछि समस्या समाधान भएको जनाएका छन् ।

हङकङ प्रशासनले आफ्नो भूमि प्रवेशका लागि खोप लगाएको प्रमाणपत्र अनिवार्य गरेको छ । तर त्यस्तो प्रमाणपत्र मान्य हुने मुलुकको सूचीमा नेपाललगायत धेरै देशलाई राखेको छैन । त्यसैले हङकङ आइडी भएर पनि नेपालमा करिव चार सय जना रोकिएका छन् । अरू मुलुकले यस्तो समस्याको कूटनीतिक माध्यमबाट पहल गरे पनि नेपालले अझै सार्थक प्रयास गरेको छैन ।

ज्ञापन पत्रको पूर्णपाठ

श्रीमान् महावाणिज्यदूतज्यू
नेपाली महावाणिज्यदूतको कार्यालय
हङकङ

विषय : आवश्यक पहलकदमी गरिदिनू हुन ।

महोदय,

हामी निवेदनहरू विभिन्न समयदेखि हङकङमा बसोबास गर्दै आएका नेपाली नागरिक हौँ । हाम्रा परिवारका सदस्यहरू पारिवारिक शोक वा सामाजिक कामले गर्दा नेपाल गएका थिए । तर अचानक भएको निषेधाज्ञा (लकडाउन) का कारण उनीहरू नेपालमै बिचल्लीमा परेका छन् । यसका कारण हङकङमा हामीलाई आर्थिक एवं मनोवैज्ञानिक प्रभाव परिरहेको छ । यसर्थ नेपालमा अड्किएका हाम्रो परिवारका सदस्यहरूलाई यथासम्भव चाँडो कर्मभूमि हङकङ फर्किने व्यवस्था मिलाउन तपसिल बमोजिम निवेदन गर्दछौँ ।

क. नेपालमा करिब चार सय जनाको हाराहारीमा हङकङमा बस्ने नेपाली बिचल्ली अवस्थामा रहेको अनुमान छ । त्यसमध्ये करिब डेढ सय जना हाम्रो सम्पर्कमा रहेका छन् । हाम्रा आफन्तमध्ये कतिपय परिवारका सदस्य गुमाएका कारण हाम्रा आफन्तहरू नेपाल जानु परेको थियो । कतिपय आमाहरू दूधे बालकलाई हङकङमा छोडेर नेपाल गएका थिए । तर आउने बेलासम्ममा अवस्था फेरियो । कर्मभूमि फर्किन पाएनन् । त्यसले गर्दा हामी हङकङमा रहेका परिवारका सदस्यहरूले आर्थिक एवं मनोवैज्ञानिक पीडा र क्षति भोग्नु परिरहेको छ । 

ख. हामीमध्ये धेरैले हङकङमा व्यापार व्यवसाय गर्दै आएका छौँ । घर फ्ल्याट वा अन्य वस्तु वा सेवा खरिद गरेका छौँ । त्यसक्रममा स्वाभाविक रूपमा बैंकबाट ऋण लिनु परेको थियो । परिवारका महत्त्वपूर्ण सदस्य अहिले कर्मभूमिमा नहुँदा आर्थिक रूपमा भएको नोक्सानी चुलिँदो छ । रोजगारी गरेर परिवार पाल्नेहरूलाई पनि निकै समस्या भएको छ ।

ग. हामी हङकङवासी नेपालीको आशा र भरोसाको केन्द्र नै महावाणिज्य दूतावास हो । महावाणिज्यदूतज्यू हो । हाम्रो सफलतामा हाँसो बाँड्ने र दुखमा पीडा साट्ने निकाय यही हो । यो यथार्थलाई मनन् गर्दै हामी नेपालमा गएर अड्किएका हङकङवासी नेपालीको परिवारको तर्फबाट हाम्रा नातेदार तथा आफन्तहरूलाई जतिसक्दो छिटो हङकङ झिकाउने पहलकदमी लिन विनम्र निवेदन गर्दछौँ ।

घ. हामीलाई थाहा छ कि यो सहज अवस्था नभए पनि अवरोध वा बाधा पन्छाउन असम्भव भने छैन । केही समयअघि फिलिपिन्स र इन्डोनेसियामा पनि यस्तै समस्या परेको थियो । हङकङमा बस्ने फिलिपिन्स र इन्डोनेसियाका नागरिक पनि उतै रोकिनु परेको थियो । तर उनीहरूको कूटनीतिक पहलकदमीले यो समस्या समाधान भएको छ । फिलिपिन्स र इन्डोनेसियाको कन्सुलर र कूटनीतिक प्रतिनिधिले हङकङ सरकारसँग संवाद गरेर द्विपक्षीय खोप मान्यता दिने सम्झौता भएको छ । परिणामत: उनीहरूका नागरिक हङकङ आउन पाएका छन् ।

यतिबेला हामी अप्ठेरो अवस्थामा छौँ । हाम्रा परिवारका सदस्यले नेपालमा खोप लगाएको क्युआर कोडसहितको रिपोर्ट पनि लिइसक्नु भएको छ । यो अवस्थामा तत्काल हङकङसँग द्विपक्षीय खोप मान्यता दिने सम्झौता (Bilateral vaccination record recognition agreement) का लागि कूटनीतिक पहल गर्न हामी निवेदन गर्दछौँ । हाम्रो परिवारका सदस्यलाई अविलम्ब कर्मभूमि फर्किने वातावरण मिलाउन माग गर्दछौँ । सम्भव भए नियमित उडानबाट अड्किएका नेपालीको उद्धार गर्ने र त्यो सम्भव नभए चाटर्ड फ्लाइटको व्यवस्था गर्न विशेष आग्रह गर्दछौँ ।

आशा छ नेपालको नागरिकता र पासपोर्टधारी हामी नेपालीको हङकङस्थित आशा र आस्थाको धरोहरबाट हाम्रो समस्या समाधान गर्न विशेष अग्रसरता हुनेछ । अनि हामी नेपाली भएकोमा अझ गौरव र गर्व महसुस गर्ने छौँ ।
 

हङकङस्थित नेपालीहरूको तर्फबाट निवेदकहरू

ज्ञापनपत्र बुझाएको भिडियो

 


कस्तो लाग्यो ?

यो पनि