बैशाख २३, २०८१, आइतबार
               

अफगानिस्तान रहेका १३४ जना नेपाली सरकारको सम्पर्कमा

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ जना नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार साँझसम्म ती नेपाली सम्पर्कमा आएर उद्धारका लागि आग्रह गरेका हुन् । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् ।

सरकारले अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाउनका लागि आइतबार एक कार्यदल गठन गरेको थियो । 

परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका सदस्य रहेका छन् । 

अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे जानकारी आउने क्रम बढेको र उचित परिस्थिति बनेपछि उनीहरूको उद्धारका हुने प्रवक्ता लम्सालले जानकारी दिए ।

उनले संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली संघ, जापानलगायत देशलाई आफ्नो नागरिक उद्धार गर्दा नेपालीको पनि उद्धार गरिदिन पत्राचार गरिएको बताए । 

संयुक्त राष्ट्रसंघलाई फोन र पत्रमार्फत पनि नेपालीको उद्धारका लागि अनुरोध गरिएको प्रवक्ता लम्सालले उल्लेख गरे ।    रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकिन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा आइतबार अन्तर मन्त्रालयको बैठकले कार्यदल गठन गरेको थियो । 

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ । अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ । 

यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न भनिएको छ ।

यस्तै सरकारले काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन विशेष पहल  गरिरहेको छ । 

अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाबारे नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ ।  

त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवम् तथ्यांक उपलब्ध गराउनसमेत आग्रह गरिसकिएको छ ।

यस्तै, कार्यदलको आजका बैठकले तोकिएका फोन नम्बरमा आफ्नो विवरण टिपाउन सम्बन्धित व्यक्ति तथा परिवारलाई अनुरोध गरेको छ । अफगानिस्तानमा कार्यरत नेपालीले सामाजिक सञ्जालको प्रयोग गरेर आपसमा सुरक्षास्थिति तथा उद्धारसम्बन्धी सूचना आदानप्रदान गर्ने र सार्वजनिक भएका नम्बरमार्फत जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ । 

उद्धारको प्रक्रिया सुरु भई स्वदेश आउने क्रममा रहेका नेपालीको नेपाल आगमनपश्चात् गर्ने कोभिड–१९ को परीक्षण तथा क्वारेन्टिनलगायत कार्यको सहजताका लागि आवश्यक समन्वय गरी व्यवस्था मिलाउने निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

गृहमन्त्री बालकृष्ण खाँणले सोमबार नै सरकारका विभिन्न निकायको पदाधिकारी सम्मिलित बैठकमा अफगानिस्तानमा रहेका नेपालीको उद्धार सम्बन्धमा आवश्यक निर्देशन दिएका थिए ।

काबुलबाट आइतबारदेखि नै त्यहाँ रहेका नेपालीको सुरक्षित घर फिर्ती प्रक्रिया क्रमशः सुरु भइसकेको उल्लेख गर्दै परराष्ट्रले त्यसका लागि कूटनीतिक पहलसमेत भइरहेको स्पष्ट पारेको छ ।

अफगानिस्तानमा रहेका नेपालीको क्रमिक रुपमा स्वदेश आवागमन एक–दुई दिनभित्रै सुरु हुने स्पष्ट पारेको छ । त्यहाँ रहेका नेपाली र उनीहरूको रोजगारदातासँग सार्वजनिक गरिएका टेलिफोन नम्बर, इमेलमार्फत मन्त्रालय, कन्सुलर सेवा विभाग र नयाँदिल्लीस्थित नेपाली दूतावास नियमित सम्पर्कमा रहेको बताएको छ । 

विवरणहरूमा जनाइए अनुसार केही नेपालीलाई रोजगारदाताले नै उद्धार गरेर दोहा पुर्याएका छन् । वैदेशिक रोजगार विभागले अफगानिस्तानमा नेपाली पठाएका म्यानपावर व्यवसायीमार्फत पनि उद्धारको पहल गरिरहेको छ । व्यवसायीले ३३० नेपाली दोहा पुगेको जानकारी दिएको विभागले जनाएको छ । केही नेपाली भने काबुलस्थित विमानस्थलमा रहेका छन् । 

यो पनि