बैशाख १५, २०८१, शनिबार
               

नेपाली दूतावास बेलायतको आयोजनामा नेपाल विकास सम्मेलन सम्पन्न

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

लण्डन । नेपाली दूतावास बेलायतले शनिबार नेपाल विकास सम्मेलनको आयोजना गरेको छ । सम्मेलनमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका नेपाली समुदायले नेपाल र बेलायतबीचको सम्बन्धलाई थप प्रवद्र्धन गर्न योगदान गरिरहेको बताए ।

उनले नेपाल सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान र संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यहरु हासिल गर्न विदेशमा रहेर विभिन्न क्षेत्रमा दक्षता तथा अनुभव हासिल गरेका नेपाली विज्ञहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

सम्मेलनमा बेलायतको लीड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले ‘नेपालको विकासका लागि आर्थिक कुटनीति’ सम्बन्धमा प्रकाश पारेका थिए । यसैगरी, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा. पदम सिम्खडाले नेपाली आप्रवासी कामदारको स्वास्थ तथा हितका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत डा. कृष्णप्रसाद अधिकारीले ‘नेपालका सामुदायिक  संघ संस्थाहरुका कार्य र त्यसको स्थानीय सरकारसँगको सम्बन्ध’ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा यूनिर्भसिटी कलेज अफ लण्डनमा प्राध्यापनरत डा. पुनम यादवले ‘तथ्याङलाई लिङ्गको आधारमा छुट्याउन किन आवश्यक छ ?’ भन्ने विषयमा प्रस्तुति गरेकी थिइन् ।

यस्तै, क्विन एलिजाबेथ अस्पतालमा कार्यरत तथा आर्डेन विश्वविद्यालयमा प्राध्यापनरत डा. बच्चुकैलाश कैनीले ‘नेपालमा स्वास्थ्य क्षेत्रको विकास’ का बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । बेलायतको ट्रान्सपोर्ट फर लण्डनमा मुख्य यातायात मोडेलरका रुपमा कार्यरत डा. वीरेन्द्र श्रेष्ठले ‘काठमाडौंको ट्राफिक व्यवस्थापनका लागि बेलायतको अनुभव’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।

बेलायतको रोयल बोटानिक गार्डेन एडिनबरामा कार्यरत जैविक विविधतासम्बन्धी बैज्ञानिक डा. भाष्कर अधिकारीले ‘नेपालको विकासमा वनस्पति विज्ञानसम्बन्धी संयुक्त अनुसन्धानको महत्व’ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा बेलायतका दुई प्रतिष्ठित अक्सफोर्ड र हल विश्वविद्यालयबाट महाविद्यावारिधि उपाधिद्वारा विभुषित प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई राजदूत डा. सुवेदीले अभिनन्दन गरे ।


कस्तो लाग्यो ?

यो पनि