बैशाख २६, २०८१, बुधबार
               

कुवेतबाट नेपाली लिएर आज दुईवटा जहाज काठमाडाैं आउँदै

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

कुवेतबाट नेपाली लिएर आज दुईवटा जहाज काठमाडाैं  आउँदै छन् । कुवेत सरकारले गरेको आममाफीमा सहभागी तीनसय जना महिलालाई लिएर दुवै जहाज कुवेतबाट नेपालका लागि उडिसकेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।

कुवेतमा आममाफीमा सहभागी नेपालीलाई जजिरा एअरले लिएर आउँदै छ । पहिलो जहाज ११ बजेर ३० मिनेटमा र दोस्रो जहाज १ बजेर ३० मिनेटमा त्रिभुवन विमानस्थलमा आइपुग्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीले दिउँसो ३ बजेअघि नै नेपाली लिएर आउने जहाज विमानस्थलमा अवतरण गरिसक्नुपर्ने भनेको छ । कुवेतबाट महिलालाई मात्र प्राथमिकतामा राखेर नेपाल पठाइएको छ । कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको छ ।

कुवेत सरकारले भिसा नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गर्दा जरिवाना तिर्नुपर्ने नेपालसहित विभिन्न देशका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत आफ्नै खर्चमा नेपालसम्म ल्याइदिन लागेको हो ।

आममाफी सहभागी झण्डै तीन हजार जना नेपाली गएको अप्रिल ३० देखि कुवेत सरकारले नै व्यवस्थापन गरेको सेल्टरमा बस्दै आएका छन् । उनीहरुलाई बस्न र खानको व्यवस्था कुवेत सरकारले नै गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि