मंसिर ०१, २०८१, शनिबार
               

हामी गलिसक्यौं, अझै नेपाल प्रवेश नदिए हामी सामूहिक मर्छौं

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

कोरोना भाइरसका कारण ४८ दिनदेखि सीमा नाका बन्द छन् । देश लकडाउनमा छ भने अन्तर्राष्ट्रिय उडान ठप्प छन् । नेपालजस्तै सीमा जोडिएको छिमेकी भारतमा पनि देशव्यापी लकडाउन घोषणा गरिएको छ । जसका कारण भारतमा रहेका हजारौं नेपाली अलपत्र छन् । 

भारतका विभिन्‍न ठाउँमा रहेका नेपालीहरुले काम पाएका छैनन् । काम नपाउँदा दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई हातमुख जोड्‌न पनि धौधौ भइसक्यो । पराई देशमा यसरी समस्या झेल्नुभन्दा स्वदेशमै कर्म गर्ने र घरकै रुखोसुखो खाने आशमा पीडाका पहाड छिचोल्दै जन्मभूमिको सीमामा आइपुग्दा जब जन्मभूमिको ढोका बन्द भएको देखे, उनीहरू निराश भए । भारतबाट आएकाहरूले नोभेल कोरोना भाइरसको संक्रमण गराउन सक्ने भन्दै उनीहरुलाई नेपालको ढोका बन्द गरियो । 

उनीहरूले चीनमा रहेका नेपालीहरुलाई हेलिकोप्टरमा स्वेदश फर्काउने सरकाले हामीलाई किन ढोका बन्द गर्‍यो भन्दै भारतबाट नाराबाजी गरे । तर, केही सीप चलेन । केहीले महाकालीमा हाम्फालेर स्वदेश फर्किन प्रयास गरे पनि प्रहरीले नियन्त्रणमा लियो । यसरी महाकालीमा हाम फालेर आउनेमध्ये एकजना अझै बेपत्ता छन् । बाँकीलाई भारतकै आश्रयमा क्‍वारेन्टाइनमा राखियो । 

घरको दलानमा टेक्न नपाएको पीडा एकातिर थियो भने क्‍वारेन्टाइनमा बस्‍ने समय १४ दिन पूरा भएपछि स्वास्थ्य जाँच गरेर स्वदेश फर्किन पाउने आशा पनि थियो । त्यही आशाले क्‍वारेन्टाइनको समस्या र औंला भाचेर घर परिवारका याद गर्दै १४ दिन कटाए । क्‍वारेन्टाइनमा थप सात दिन बस्‍नुपर्ने भनियो । २१ दिन पनि कट्यो । तर, स्वदेश फर्किन पाएनन् । 

भारतको पिथौरागढस्थित क्‍वारेन्टाइनले पनि अब धेरै उनीहरुलाई पाल्‍न नसक्‍ने भन्दै नेपाली प्रशासनलाई जनाएपछि नेपाल सरकारको पहलमा बाध्य भएर ३४ दिनपछि बैतडीको झुलाघाट नाकाबाट १८ वैशाखमा १ हजार २ सय ९९ नेपालीको उद्धार गरेर स्वेदश फर्काइयो । 

उनीहरुलाई स्वेदश फर्काएर १४ दिन क्‍वारेन्टाइनमा राखिएको छ र आरडीटी जाँचपछि मात्रै घर जान दिइने बताइएको छ । निस्कासन गरिएपछि पैदल हिँडेर नेपाल प्रवेश नाकामा पुगेका थिए । 

उनीहरु ९० किमि हिँडेर शुक्रबार राति खटिमा हुँदै कञ्चनपुरको महाकाली नगरपालिकाको बाबाथान पुगेका थिए । त्यहाँबाट नेपाल प्रवेश गर्न खोज्‍ने क्रममा भारतीय एसएसबीले कुटपिट गरेर लखेट्यो । एसएसबीको कुटाइबाट घाइते भएकाहरु वनबासा हुँदे पैदल हिँडेर फेरि खटिमा पुगे । ्

यसरी तीन दिन लगातार हिँडेका उनीहरुलाई शनिबार दिउँसो भारतीय राष्ट्रिय कांग्रेस उत्तर प्रदेशका महासचिव भुवन कापडीको नेतृत्वमा खाना र पानीको व्यवस्था भयो । 

करिब डेढ महिनापछि एकसाथ पानी र खाना पाएको पहिलोपटक भएको अलपत्र एक नेपालीले बताए । खाना व्यवस्था भए पनि उनीहरुलाई बासको समस्याका कारण सडकमै अलपत्र थिए । 

उनले आफूहरु नेपालमै क्‍वारेन्टाइनमा बस्‍न तयार रहेकाले जसरी पनि नेपाल फर्काउन माग गरेका छन् । एउटै कोठामा करिब २०० जना राखिएकोसमेत उनले बताए । एउटै कोठामा २०० जना राखिँदा यदि कसैलाई कोरोना रहेछ भने पनि सबैलाई संक्रमण हुने जोखिम पनि उत्तिकै छ । 

यदि कोरोना संक्रमण भए १४ देखि २१ दिनभित्र लक्षणको विकास हुन्छ र ज्वरो, सुक्खा खोकीजस्ता लक्षण देखिन्छन् । उनीहरु त्यहाँ बसेको ४५ दिनभन्दा बढी भइसकेको छ । यसको अर्थ यसअघिसम्म उनीहरुलाई कोरोना संक्रमण नभएको थाहा पाउन सकिन्छ । आँगनमा पुगेर ढोका बन्द गरिएपछि फर्किएकाहरु भन्छन्, ूअब गलिसक्यौं । अझै नेपाल प्रवेश गर्न दिएन भने सामूहिक मर्छौं ।ू 

उनीसँगैका अन्यले पनि सरकारलाई जसरी पनि आफ्नै देश फर्काउन पहल गरिदिन आग्रह गरिरहेका थिए । उनीहरुले भने, सरकारले हामीलाइ देश फर्काए जेजे भन्छ, त्यही मान्छौं । मर्नै परे आफ्नै भूमिमा मर्छौं । महाकाली पुलका ढोका खोलिदिनुपर्‍यो ।ू


कस्तो लाग्यो ?

यो पनि