बैशाख १८, २०८१, मंगलबार
               

देशको पहिचान मेटाउनु दुर्भाग्यपूर्ण : राजेन्द्र शेरचन

नेपाल फ्ल्यास
पुस ०२, २०७६

ADVERTISEMENT

राजेन्द्र शेरचन अमेरिकामा रहेर मातृभूमिप्रति चिन्तित एक सचेत नागरिक हुन् । प्रवासमा रहेर पनि देशको चिन्ताले सताउने गर्दछ उनलाई । अहिलेको भन्दा समुन्नत र समृद्ध नेपाल भावी पुस्तामा हस्तान्तरण होस् भन्ने उनको मुख्य सरोकार हो । उनी देशमा धर्म संस्कृति  हराउँदै गएकोमा चिन्तित छन् । राष्ट्रियता कमजोर बन्दैगएकोमा उनलाई अझ बढी चिन्ता छ । अमेरिकामा रहेर नेपाल र नेपालीका लागि सहयोग गर्न उनी दत्तचित्त छन् । उनले नेपालमा सामाजिक काममा पनि सहयोग पुर्‍याउँदै आएका छन् । केही साताअघि प्रवासी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा निर्वाचित राजेन्द्र शेरचनसँग नेपाल फ्ल्यासले गरेको कुराकानी ।

वधाइ छ । प्रवासी नेपाली एकता समाज अमेरिकाको अध्यक्षमा चुनिनु भएकोमा ?

धन्यवाद ।

यो कस्तो संगठन हो ?

यो अमेरिकामा रहेका नेपालीहरूको संस्था हो । यो राष्ट्रवादी नेपालीहरूको साझा संस्था हो । विदेशमा रहेर पनि नेपाल र नेपालीप्रति चासो र चिन्ता गर्ने संगठन हो । विदेशमा रहेर पनि मातृभूमिका लागि के कसरी योगदान गर्न सकिन्छ भनेर सोच्ने र मन्थन गर्ने संस्था हो प्रवासी नेपाली एकता समाज । यो समाज अमेरिकामा रहेका नेपालीहरूबीच भ्रातृत्व भाइचारा कसरी बनाउन सकिन्छ भनेर चिन्ता गर्ने संस्था हो ।

राजनीतिक रुपमा तपाईँहरूको आवद्धता के हो ?

हामी राष्ट्रवादी हौं । हामी देशभक्त हौं । पछिल्लो राजनीतिक परिवर्तनबाट मुलुक झन् झन् संकटमा गएको छ । अभिभावकविहीन भएको छ । मुलुकको पहिचान मेटिँदै गएको छ । यसले गर्दा हामी राप्रपासँग नजिक छौं । उसले अंगालेको बाटो ठीक छ । त्यसैले समाज राप्रपाको शुभेच्छुक संस्था हो ।

यत्रो राजनीतिक परिवर्तन भयो । अब किन त्यही पुरानो एजेण्डाको पछाडि लाग्नुभएको ?

त्यो पुरानो एजेण्डा होइन । नेपाली जनताले अब बुझिसकेका छन् । अभिभावक बिनाको घर कस्तो हुँदोरहेछ । विदेशीको प्रभाव कसरी बढ्दै छ नेपालमा । देश ओरालो यात्रामा छ । कहाँ पुगेर ठूलो दुर्घटना हुने हो, ठेगान छैन । देशको पहिचान मेटाउनु दुर्भाग्यपूर्ण छ । मुलुकलाई बचाउनु प‍र्‍यो । हामी विदेशमा छौं । जे भए पनि होस् । भाडमा गए पनि मतलब छैन । यस्तो भनेर बस्न हामीलाई मनले मानेन । मातृभूमिप्रतिको भार लाग्छ जस्तो भइरहेको छ । त्यसैले कतिपयलाई कर्णप्रिय नलागे पनि हामीले यो बाटो समातेको हो । 

किन अप्ठेरो बाटो समातेको ?

बाटो सबै सहज हुँदैनन् । तर यथार्थ कटु हुन्छ । हेर्नुस् न विश्वका पाँचभागको एक भाग हिन्दु छन् । विश्वकै एकमात्र हिन्दु राष्ट्र थियो नेपाल । पहिचान थियो । के बिग्रिएको थियो र हिन्दु राष्ट्र हुँदा ! तर पहिचान मेटाउने काम भयो । अहिले सबैले बुझ्दैगएका छन् । हिन्दु राष्ट्र अब फर्काउनु पर्छ । राजसंस्था नेपालका लागि अपरिहार्य छ । केही समय लाग्न सक्ला । तर यो बाटो कठीन होइन । सहज छ । राष्ट्रिय आवश्यकता भएकोले यो बाटो हिड्नेलाई गौरव हुन्छ ।

तर विदेशमा रहेका नेपालीहरूकै साथ तपाईँहरूको एजेण्डामा देखिएको छैन नि ?

त्यस्तो होइन । साथ छ र हामीलाई साथ बढ्दै गएको छ । हिजो मुलुकमा गणतन्त्र भएमा देश चन्द्रमा मै पुग्ला भन्ने खालका भ्रमहरू थिए । केही मानिस अन्जान र कतिपय भ्रममा परे । तर अहिले विश्वभर राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनमत बन्दैगएको छ । हामीले हाम्रो धर्म संस्कृति भुलेका छैनौं । अमेरिकामा मन्दिर बन्न थालेको छ । यहाँ सप्ताह लाग्न थालेको छ । आफ्नो संस्कार र संकृतिप्रति अटुट आस्था र विश्वास पलाएको छ । 

अब समाजले के कस्तो काम गर्छ ?

यसले सम्पूर्ण राष्ट्रवादी र देशभक्तहरुलाई एकीकृत गर्छ । नेपालमा भएको गलत कामबारे झकझकाउने काम गर्छ । १२ बुँदे समझदारीदेखि बिग्रिएको नेपालको बाटोलाई सही मार्गमा ल्याउन दबाबमूलक काम गर्नेछ । अर्को प्रवासमा भएका नेपालीबाट मातृभूमिका लागि योगदान दिने गैरआवासीय नेपाली संघ एनआरएनएको मार्गलाई सहयोग पुर्‍याउने छ । अनि अमेरिकामा रहेका नेपालीहरूबीच भावनात्मक र भाइचाराको सम्बन्ध विकसित गर्छ । सुख बाड्छ अनि दुखमा साथ दिन्छ ।


कस्तो लाग्यो ?

यो पनि