बैशाख २७, २०८१, बिहीबार
               

शिक्षा विधेयक सच्याएर मात्रै पारित हुन्छ :गगन थापा

नेपाल फ्ल्यास
असोज ०५, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त जनाएका छन् । 

शुक्रवार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले विधेयकमा संशोधन हाल्न शुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताए । उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको भन्दै सच्याएर मात्रै संसदबाट पारित हुने दाबी गरे । उनले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभई कम्तीमा २० वर्षसम्म हेर्नसक्ने खालको हुनुपर्ने उल्लेख गरे । 

उनले भने,  ‘आज विद्यालयहरू बन्द रहेको अवस्था छ । शिक्षक साथीहरू सङ्घर्षमा छन् । आज सरकार र उनिहरु बीचमा संवाद पनि चलिरहेको छ । समग्र शिक्षालाई हेर्ने एउटा कानुन धेरै पहिला आइसक्नुपर्ने थियो, त्यसमा हामी चुक्यौँ । अहिले संसदमा दर्ता भएको विधेयकमा संशोधन हाल्न शुरु भएपछि मैले मात्रै हाल्ने संशोधन हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटि रहेछन् । अहिले बनाउने कानुनले आजको समस्या मात्र होइन, कम्तीमा २० वर्षसम्म हेर्नसक्ने खालको हुनुपर्छ ।’

महामन्त्री थापाले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेसामा हुनेहरूले पाउनुपर्ने जिकिर गरे । उनले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालय शिक्षालाई उकास्न नसकिने बताए । सरकारले छिटो भन्दा छिटो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।

महामन्त्री थापाले सरकार र शिक्षकबीचको वार्ताले सकारात्मक रूप लिने विश्वास लिएको पनि बताए । 


कस्तो लाग्यो ?

यो पनि