बैशाख २२, २०८१, शनिबार
               

बालमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध: प्रचण्ड

नेपाल फ्ल्यास
भदौ २९, २०८०

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।  
राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको उल्लेख गरे ।  

विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित पालिकाबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए । 

प्रधानमन्त्री प्रचण्डले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्धन गर्न—गराउन सङ्घीय सरकार, प्रदेश सरकार र पालिकालाई आउँदो वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गर्नुभएको छ ।

बाल यौन दुर्व्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचविखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको पनि प्रधानमन्त्रीको भनाइ छ ।  

यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्छ । उनले भने ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ । 
 


कस्तो लाग्यो ?

यो पनि