बैशाख २१, २०८१, शुक्रबार
               

उपप्रधानमन्त्री खड्का र लेबनानका अवैतनिक वाणिज्य दूत गोउजायलबीच भेट

नेपाल फ्ल्यास
भदौ ०७, २०८०

ADVERTISEMENT

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग लेबनानका लागि नेपालका अवैतनिक वाणिज्य दूत एल्चेइख मोहमेदविसाम गोउजायलले आज शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री खड्काले दुई देशबीच द्विपक्षीय सम्बन्ध स्थापना भएदेखि नै नेपाल र लेवनानबीच असल सम्बन्ध रहेको उल्लेख गर्दै शान्ति स्थापनार्थ युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (युनिफिल) मिसनमा नेपाली शान्ति सैनिकहरू लेबनानमा तैनाथ भई लेबनानको शान्ति प्रक्रियामा योगदान पुर्‍याउन पाएकोमा खुसी व्यक्त गरे । उनले यसले दुई देशबीचको सम्बन्धलाई विशेष बनाएको उल्लेख गरे । 

साथै, नेपाल र लेबनान दुवै मुलुक प्राकृतिक सम्पदा, संस्कृति र परम्परामा सुन्दर एवम् धनी रहेको र पर्यटन उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने धेरै सम्भावनाहरू भएकाले पर्यटन एवम् अन्य क्षेत्रमा लेबनानको तर्फबाट लगानीका लागि आह्वान समेत गरे ।

उपप्रधानमन्त्री खड्काले  सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षकको तैनाथीबाट संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा पहिलो पटक नेपाली सेना शान्ति सैनिकको रूपमा सहभागी भई शान्ति स्थापना कार्यको यात्रालाई सुरुवात गरेकोले नेपाली सेनाको इतिहासमा कोसेढुङ्गा साबित भएको बताए । 

सन् १९७८ देखि युनिफिल मिसन अन्तर्गत हालसम्म ५० हजारभन्दा बढी शान्ति सैनिकहरू तैनाथी भई आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् । साथै हाल ८७५ जना शान्ति सैनिकहरू लेबनानमा तैनाथ रही आफ्नो जिम्मेवारी वहन गरिरहेको स्मरणसमेत उनले गरे ।

नेपाली सेना र लेबनानी सशस्त्र बलबीच सौहाद्रपूर्ण सम्बन्ध रहेको, साथै  नेपालको तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको भ्रमण नियमित रूपमा हुने गरेको पनि उनले औँल्याए । उपप्रधानमन्त्री खड्काले नेपाली सेनाका प्रधानसेनापतिको नेतृत्वमा भएको पछिल्लो भ्रमण पनि यसैको निरन्तरता रहेको र भविष्यमा समेत यसलाई निरन्तरता दिइने कुरा उल्लेख गरे । 

सो अवसरमा लेबनानका लागि नेपालका अवैतनिक वाणिज्य दूत  एल्चेइख मोहमेदविसाम गोउजायलले लेबनानमा नेपाली शान्ति सैनिकले खेलेको भूमिकाको प्रशंसा गर्दै नेपाली शान्ति सैनिकप्रति लेबनानी जनताको सकारात्मक भावना रहेको जनाए ।

उनले दुई देशबीच पर्यटन, उद्योग, जलश्रोत लगायतका विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्भावना रहेको र आफूले त्यसका लागि कार्य गरिरहेको ‌बताए । साथै, दुई देशबीच द्विपक्षीय श्रम, उद्योग, वाणिज्य, व्यवस्थापकीय लगायतका क्षेत्रमा द्विपक्षीय समझदारी गर्ने कार्य लेबनानको तर्फबाट अघि बढाएकाले नेपालको तर्फबाट ती विषयहरू शीघ्र टुङ्गोमा पुर्‍याउन भूमिका निर्वाह गर्न उपप्रधानमन्त्री तथा रक्षा मन्त्री खड्कासँग अनुरोध गरे ।     

सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति, रक्षा मन्त्रालयका सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका अधिकारीका साथै, नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो । 

यो पनि