बैशाख २०, २०८१, बिहीबार
               

एमालेले अनावश्यक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनायो:अर्थमन्त्री महत

नेपाल फ्ल्यास
साउन ३२, २०८०

ADVERTISEMENT

जनकपुर । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेकपा एमालेले अनावश्यक बखेडा झिकेर संसद्लाई प्रभावहीन बनाउने काम गरिरहेको बताएका छन् । 
नेपाल प्रेस युनियन धनुषाले बिहीबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले नेकपा एमालेको अनावश्यक संसद् अवरोधले महत्त्वपूर्ण विधेयकहरू ओझेलमा परेको बताए । उनले आफूहरू सरकारभन्दा बाहिर हुँदा कहिल्यै संसद् अवरोध नगरेको तर, एमाले सरकारबाट बाहिरिने बित्तिकै अनावश्यक संसद् अवरोधमा उत्रिएको बताए । 

सङ्घीयता, सङ्घीय कानुन, संसद् र कार्यपालिका चुस्त बनाएर प्राप्त उपलब्धि बचाउने कर्तव्य प्रतिपक्षीको पनि रहेकाले अनावश्यक संसद् अवरोध छोडेर प्रक्रियामा आउन उनले एमालेलाई आग्रह गरे ।

अर्थमन्त्री डा. महतले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आएको बताए । अर्थतन्त्र अब गति लिइरहेको र राष्ट्र बैँकले समेत ब्याज घटाउँदै गइरहेको उनले बताए ।

उनले सरकारको पहिलो प्राथमिकता नै पारदर्शिता, सुशासन र आर्थिक प्रगति रहेको बताए । विगतमा कोरोना भाइरसको सङ्क्रमणले विश्वमा आर्थिक क्षेत्रमा आएको तरलताका कारण समस्या देखिएकोमा अब बिस्तारै यसमा सुधार भइरहेको उनको भनाइ छ ।  

देशको आर्थिक आवश्यकता धेरै रहेपछि क्षमता थोरै रहेकाले समेत यसैबीच आर्थिक विकास हासिल गर्नुपर्ने आवश्यकता रहेको औल्याए । मन्त्री महतले सरकारले मुलुकमा सुशासनको अवस्थामा सुधारको काम गरिरहेको बताउँदै सरकारप्रति जनतामा सकारात्मक सन्देश प्रवाह भइरहेको समेत बताए । 

सरकारले ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको भन्दै उनले आर्थिक सुशासन कायम गर्ने तर्फ ध्यान कन्द्रित रहेको बताए । उनले ब्याजदर बिस्तारै घट्दै गएकाले ऋण लिएर व्यापार व्यवसाय गर्नेहरूलाई मद्दत पुग्ने बताए । 
 


कस्तो लाग्यो ?

यो पनि