बैशाख १४, २०८१, शुक्रबार
               

जुर्मुरायो अख्तियार: मल खरिदकाे एक अर्ब भ्रष्टाचारमा चलायो मुद्दा !

नेपाल फ्ल्यास
पुस १९, २०७८

ADVERTISEMENT

पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो कामलाई प्रभावकारी बनाउँदै लगेको छ ।

काठमाडौं महानगरपालिकाकाे ६९ करोड रुपैयाँको भवन निर्माणको ठेक्काविरुद्ध मुद्दा दायर गरेको दुई सातामै अख्तियारले मल खरिदमा अनियमितता गर्ने १० जनाविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारले गत वर्ष रासायनिक मल आपूर्ति गर्दा एक अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक, गुणस्तर प्रमाणित गर्ने कम्पनी र ठेकेदारविरुद्धसमेत गरी १२ जनाविरुद्ध आयोगले आइतबार अदालतमा मुद्दा दायर गरेको हो । 

गत वर्ष १९ हजार चार सय ३३ मेट्रिक टन डिएपी मल खरिद तथा आपूर्ति गर्दा सो परिमाणको रकमबराबर भ्रष्टाचार भएको आयोगको अभियोगपत्रमा उल्लेख छ । सम्झौता गरिएको स्पेसिफिकेसनमा तोकिएभन्दा न्यून गुणस्तरको रासायनिक मल आयात गरेर त्यसका आधारमा भुक्तानी दिइएको एक अर्ब ५३ लाख २२ हजार रुपैयाँ रकमलाई बिगो कायम गरेर आयोगले अदालतमा मुद्दा दायर गरेको हो । आयोगले यस प्रक्रियामा संलग्न संस्थान, गुणस्तर प्रमाणित गर्ने कम्पनी र ठेकेदार सबैविरुद्ध मुद्दा दायर गरेको छ । रासायनिक मल खरिद प्रकरणमा आयोगले करिब सात महिना लामो छानबिन गरेर आइतबार अदालतमा मुद्दा दायर गरेको हो । ठेकेदारले ल्याएको मल अहिले प्रयोग भएर पनि सकिएको छ । 

अख्तियारले प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे र उपप्रबन्धक पुष्कर दिप बुढाविरुद्ध मुद्दा दर्ता गरेको छ । उनीहरूले मल खरीद गर्दा कृषि सामाग्री कम्पनी लिमिटेडलाई हानिनोक्सानी पुर्‍याएको र आफू समेतलाई गैरकानूनी लाभ लिने मनसाय लिई कार्य गरेको पुष्टि भएको अख्तियारले जनाएको छ। अख्तियारले दायर गरेको मुद्दामा हिनामिना भएको रकम बिगो कायम गरी सजाय गर्न माग गरिएको छ ।

त्यस्तै, गलत प्रतिवेदन तयार गर्ने नेपाल इन्भाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिस प्रालि र त्यसका प्रबन्ध निर्देशक सलिल देवकोटासहित कर्मचारीलाई पनि विपक्षी बनाइएको छ ।

प्रालिका प्रबन्ध निर्देशक देवकोटासँगै ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरीविरुद्ध मुद्दा दर्ता गरेको हो । कृषि सामाग्री कम्पनी र प्रालिबीच सम्झौता गर्ने मनोज आचार्यको पनि संलग्नता रहेको ठहर गर्दै अख्तियारले विपक्षी बनाएको छ ।

अख्तियारले मल आपूर्तिकर्ता विरुद्ध पनि मुद्दा दायर गरेको छ । मल आपूर्तिकर्ता कम्पनी जोशी बिज हाउस प्रालि र प्रालिका कार्यकारी निर्देशक विनित जोशीविरुद्ध पनि मुद्दा दायर गरेको हो । कम्पनीले खरीद गरेको डीएपी मल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरीद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारी र आपूर्तिकर्ता समेतको मिलेमतोमा कम गुणस्तरको मललाई गुणस्तरयुक्त मल भनी खरीद गरेको पाइएको अख्तियारले जनाएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनलले मुलुकमा भ्रष्टाचार बढीरहेकाे तथ्य उजागर गरेको बेला संवैधानिक निकाय अख्तियारको गतिशीलताले जनतामा उत्साह थपेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि