बैशाख १६, २०८१, आइतबार
               

गठबन्धन टुट्छ कि भन्ने आशंका नगर्न नेपालको आग्रह

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने होकि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन र रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमति भएको र त्यसले गठबन्धनलाई टुटाउन खोज्नेहरुको सपनालाई चकनाचुर पारेको दावीसमेत गरे।

सानेपास्थित हेरिटेज प्लाजामा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयु लामो छैन भन्नेहरुलाई जवाफ दिनेगरी आफूहरुले राष्ट्रियसभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमती गरिसकेको पनि स्पष्ट पारे। 

अध्यक्ष नेपालले दुई वटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने तर्क समेत गरे। कार्यक्रममा बोल्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिए। उनले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।

बैठकमा वाग्मती प्रदेशका मुख्यमन्त्री एवम् पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र प्रदेश १ का मुख्यमन्त्री एवम् पार्टीका सचिव राजेन्द्र राईले आ–आफ्नो प्रदेश सरकारको योजनाबारे बिफ्रिङ गरेका थिए। नेकपा (एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक आइतबारसम्म चल्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि