बैशाख १२, २०८१, बुधबार
               

संविधान च्यात्न खोज्ने प्रतिगमनकारीहरू सल्बलाउँदै : अर्थमन्त्री शर्मा

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमन केही परास्त भए पनि सल्बलाउन नछोडेको बताएका छन् । पोखरामा प्रेस सेन्टर गण्डकीको अधिवेशनलाई उद्घाटन गर्दै उनले संविधान च्यात्न खोज्नेहरु हाबी हुन लागेको बताए। 

‘प्रतिगमन गर्नेहरु, संविधान च्यात्न खोज्नेहरु, उपलब्धि उल्ट्याउन खोज्नेहरु गठबन्धनका कारण केही हदसम्म परास्त भएका छन्,’ उनले भने, ‘तर फेरि उनीहरु सल्बलाइरहेका छन्। त्यस्ता शक्तिलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनु पर्छ।’

कांग्रेसको नेतृत्वमा बनेको ५ दलीय गठबन्धन सत्ता प्राप्तिका लागि नभई संविधानको रक्षाका लागि भएको उनको दाबी छ। ‘प्रतिगमनविरुद्ध आन्दोलन गरेर जुन गठबन्धन भएको छ, यो गठबन्धनको तात्पर्य सरकारमा सहभागी हुनेमात्र कुरा होइन। संविधानको रक्षा गर्ने कुरा हो, परिवर्तनको रक्षा गर्ने र संविधान कार्यान्वयन गर्ने कुरा हो,’ उनले भने।

शर्माले लोकतन्त्रको पक्षमा एकीकृत हुन आग्रह गरे। ‘बचनले होइन, कर्मले लोकतन्त्रको सेवा गर्नुपर्छ। बचनले लोकतन्त्रका कुरा गर्ने, कर्मले प्रतिगमन गर्ने तत्वहरु छन्। त्यसकारणले काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिनुपर्छ,’ उनले थपे, ‘राज्यसत्ता र सरकारका कामले संविधानलाई च्यात्ने प्रयास गर्छन् भने सबै साथीहरु आन्दोलनमा जानुपर्छ। जनचाहना र लोकतन्त्र विपरीत हुने काममा खबरदारी गरिनुपर्छ।’

उनले उत्पादन, रोजगारी र समृद्धिको अभियानलाई साथ दिन पनि आग्रह गरे। माओवादी अध्यक्ष प्रचण्डको विचारले अहिले पनि देश अगाडी बढिरहेको उनको तर्क छ। ‘वर्ग संघर्षदेखि जनयुद्ध हुँदै शान्ति प्रक्रियामा रुपान्तरण भएर गणतन्त्र ल्याउनेसम्मको नेतृत्व नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले गर्नुभएको हो। ती उपलब्धी रक्षा गर्ने काम पनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नै गरिरहनुभएको छ,’ उनी भन्छन्, ‘यसमा गिरिजाप्रसादको पनि भूमिका र योगदान छ। मैले भनेका कुरा माओवादीको होइन, राष्ट्रको कुरा हो।’


कस्तो लाग्यो ?

यो पनि