कात्तिक ३०, २०८१, शुक्रबार
               

विश्वासको मत नपुग्ने भएपछि बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिँदै

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिने भएकी छिन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभा सचिवालयमा विश्वासको मत नपाउने निश्चित जस्तै भएपछि उवले पदबाट राजीनामा दिने तयारी गरेकी हुन् । उनले आज संसदका लागि तोकिएको समय दिउँसो १ बजे भन्दा अगाडि नै प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा दिने तयारी गरेकी छिन्।

प्रदेशसभामा पाँच दलीय गठबन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि उनले राजीनामा दिन लागेको बताइएको छ । प्रदेशमा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा वाग्मती प्रदेश सरकार गठन हुने भएको छ । उनको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी लगायतका दलको सहभागितामा वाग्मती प्रदेश सरकार गठन हुन लागेको हो । 

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको प्रस्तावमा बुधबार प्रदेशसभामा मत विभाजन गरिने कार्यतालिका थियो । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिएको भए पनि राजीनामा दिएर नयाँ सरकार गठन गर्नका लागि उनले बाटो खोलीदिन लागेकी हुन् । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो । सत्तारूढ एमाले र विपक्षी गठबन्धनको आन्तरिक विवादका कारण सभामुख सानुकुमार श्रेष्ठले मत विभाजन प्रक्रिया दुई पटक सार्नु भएको थियो । प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३ सांसद छन् । 

विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) र राप्रपाका २ जना छन् । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छन् । विश्वासको मत नपुग्ने भएपछि नयाँ सरकार गठनका लागि सहज पार्न पनि राजीनामा दिन लागेकी हुन् । 

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी छिन् । मुख्यमन्त्री शाक्य भदौ २ मा नेपालकै पहिलो महिला मुख्यमन्त्री बनेकी थिइन् । 


कस्तो लाग्यो ?

यो पनि