बैशाख २९, २०८१, शनिबार
               

संसद् छाडेर जान एमालेलाई कसैले बक्सिस दिएका होइनन् : प्रदिप ज्ञवाली

नेपाल फ्ल्यास
असोज २६, २०७८

ADVERTISEMENT

स‌ंघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संसद छाडेर जान एमालेलाई कसैले बक्सिस नदिएकाे बताएका छन् । उनले प्रचण्डलाई लक्षित गर्दै यस्तो बताएका हुन् । केही दिन अघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगातार रूपमा संसद अवरुद्ध गर्दै आएको एमालेलाई संसद छाडेर जान आग्रह गरेका थिए । 

दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन मंगलबार चितवन आएका ज्ञवालीले यस्तो बताएका हुन् । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले भने–‘एमालेलाई संसदमा पुर्‍याउने काम जनताले गरेका हुन् । जनताको इच्छा बेगर कसैले पनि हटाउने वा दायाँबायाँ गर्ने कुरै भएन ।’

३२ साउनसम्म एमालेले संसद अवरुद्ध नगरेको बताउँदै उनले सभामुखले पदीय दायित्व पूरा नगरेपछि मात्रै संसद अवरुद्ध हुन थालेको बताए । ‘सदन खोल्ने हो भने सभामुखले आफ्नो गल्तीलाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ’, उनले भने ।

वर्तमान गठबन्धनको सरकार देशका लागि बोझ बनेको बताएका छन् । सरकार प्रारम्भदेखि नै गलत बाटोमा हिँडिरहेको उनले बताए । ‘सरकार गलत बाटोमा हिँडिरहेको छ । त्यसो हुनाले जति दिनसम्म रहन्छ, त्यति दिनसम्म देशका लागि बोझ हुने स्थिति हामी देख्छौँ’, उनले भने । 

देउवा सरकार संविधानको अपव्याख्या अनुसार बनेको भन्दै उनले जनादेशबाट नभएर परमादेशबाट बनेको सरकार गलत बाटोमा हिँडेको उनले आरोप लगाए । ‘सरकारले प्रारम्भदेखि नै संविधानका आधारभुत संरचना भत्काउने, राष्ट्रिय हितलाई आँच पुर्‍याउने र जनताको विरोधमा काम गरेको देखिएको छ’, उनले भने । 

सरकारले भूमि सम्बन्धि समस्या समाधामन आयोग विघटन गरेर सुकुम्बासीका सपनालाई नै विघटन गरेको उनले बताए । ‘अर्थमन्त्रीले कालो धनलाई सेतो बनाउने गरी पैसाको स्रोत नखोजिने भन्नुभयो । जसले गर्दा नेपाल कालो सूचीमा पर्ने खतरा छ’, उनले भने, ‘पार्टी विशेषलाई विभाजन गर्न लोकतन्त्रका विधिका शासनको आधारभुत कुरालाई पनि सरकारले भत्काउने काम गर्‍यो ।’


कस्तो लाग्यो ?

यो पनि