जेठ ०६, २०८१, आइतबार
               

पद नथप्न र पैसामा टिकट नबाँड्न सुझाव

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

काठमाडौ । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आज समूहगत छलफल जारी छ  । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा समूहगत छलफलमा भाग लिनेहरुले नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउने नाममा अनावश्यक पद सृजना गरेर बाढ्न नहुने आवाज उठेको छ ।

छलफलमा सहभागी अधिकांश समूहका सहभागीले समावेशीतासहित  सातवटा प्रदेशको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष सात हुनुपर्नेमा जोड दिएका छन् । यस्तै नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउने भन्दै पदाधिकारी थप्दा त्यसको औचित्य के हो भनेर नेताहरुले पुष्टि गर्नु पर्ने सहभागीहरुले जनाएका छन् । विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा समूहगत छलफलमा सुझाव दिँदै प्रतिनिधिहरुले आगामी तीनवटै तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पैसामा टिकट नबाँड्न सुझाव दिएका छन् ।

विगतमा त्यस्तो त्रुटि भएकाले अबको  उम्मेदवारको मापदण्ड क्षमता र लोकप्रियता हुनुपर्ने सहभागीको सुझाव छ । विभिन्न १० समूहमा समूहगत छलफल भइरहँदा पार्टीलाई बलियो बनाउन विविधतायुक्त सुझाव आएको एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।

एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि