बैशाख १५, २०८१, शनिबार
               

भारत-चीनबीच विवाद बढ्नु हुन्न : ओली

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

नेकपा एमालेले भारत र चीन र भारतबीच विवाद बढ्दा नेपाललाई फाइदा नपुग्ने जनाएको छ ।

ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले दुई देशबीचको तनाव बढे त्यसको असर नेपाल पर्ने जनाएका हुन् । 

प्रतिवेदनमा दुई देशबीच सम्बन्ध सुधार भयो भने नेपाललाई दुवैसँग सन्तुलित सम्बन्ध राख्न, अविश्वास, आशंका कम गर्न र दुवै देशको आर्थिक विकास, ठूलो बजार र समृद्धिबाट अधिकतम लाभ लिन अनुकूल वातावरण निर्माण हुने उल्लेख गरिएको छ ।

‘दुई देशबीचको सीमा समस्यालगायतका मतभिन्नताहरू चाँडै समाधान हुन सकून् र दुई देशबीच सार्थक साझेदारी होस् भन्ने चाहन्छौँ’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा नेपाल एक चीन नीतिमा दृढ रहेको र आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन नदिने नीतिमा अविचलित रहेको उल्लेख गरिएको छ ।यस्तै, नेपालको भूभाग कुनै पनि छिमेकी तथा मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने नीतिमा पार्टी दृढ रहेको प्रतिवेदनमा बताइएको छ । 

प्रतिवेदनमा लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता क्षेत्रका नेपाली भूमि फिर्ता हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, भारतबाट नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो र हस्तक्षेप नहोस् भन्ने पनि उल्लेख गरिएको छ । 

‘कृषि उपजलगायत नेपाली उत्पादनलाई भारतमा प्रवेश सहज गर्न अवरोध सिर्जना नगरियोस्, सीमाको व्यवस्थापन होस्, जलस्रोतको बहुपक्षीय उपयोगका सम्बन्धमा गलत सोच र व्यवहार नहोस् भन्नेजस्ता नेपालका पनि चासो र सरोकार छन्’, प्रतिवेदनमा भनिएको छ, 'हामी सन् १९५० को सन्धिलगायत इतिहासले छाडेर गएका समस्यालाई समाधान गर्दै दुई देशबीच सार्वभौम समानता, अहस्तक्षेप र पारस्परिक सम्मान तथा लाभमा आधारित एक्काइसौँ शताब्दी सुहाउँदो, विश्वासिलो र बहुआयामिक सम्बन्ध विस्तार गर्न चाहन्छौँ ।’

एमालेको सदस्य ६ लाख

नेकपा एमालेले पार्टी सदस्य छ लाख पुगेको बताएको छ ।

पार्टीको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार ७७२ जना पार्टी सदस्य रहेकामा अहिले त्यो संख्या बढेर छ लाख पुगेको जनाएको हो ।

आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमा एमालेका छ लाख सदस्य रहेको दाबी गरिएको छ ।

यो पनि