बैशाख ३०, २०८१, आइतबार
               

कुमार पौडेल मृत्यु प्रकरणमा रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध उजुरी

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको छ ।

पौडेलकी आमा दुर्गादेवी पौडेलले सुरक्षाकर्मीले हत्या गरेको आरोप लगाउँदै अनुसन्धान र कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी थिइन् तर, प्रहरी ‘इन्काउन्टर’मा मारिएको भन्दै जाहेरी दर्ता अस्वीकार गर्दै आएको थियो ।

प्रहरीले उजुरी नै नलिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले तत्कालीन गृहन्त्री थापा र तत्कालीन प्रहरी प्रमुख खनालविरुद्ध परेको उजुरी दर्ता गर्न आदेश दिएसँगै उजुरी दर्ता हुने भएको हो । सर्वोच्चको आदेशपछि पौडेल मृत्य प्रकरणमा अनुसन्धानको ढोका खुलेको छ ।

बादल र खनालविरुद्ध जाहेरी दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय, सर्लाही र सर्लाही प्रहरीका नाममा आदेश भएको छ । जाहेरी दर्ता गरी सर्वोच्चलाई जानकारी पठाउनसमेत आदेशमा भनिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय छानविनले पनि पौडेलको मृत्यु नभएर इन्काउन्टरका नाममा टाउकोमा गोली हानेर हत्या गरिएको निश्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो । पौडेल ५ असार ०७६ मा लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा मारिएका थिए ।

पौडेलकी आमा दुर्गादेवीले दिएको जाहेरीमा तत्कालीन गृहमन्त्री बादल, प्रहरी महानिरीक्षक खनाल तथा मेयर भरत थापा, वसन्तराज भट्टराई, कमल बुढाथोकी र प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीको सल्लाह योजना तयारी बमोजिम हत्या गरिएको दाबी छ । जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखको पनि घटनामा संलग्नताको दाबी छ ।


कस्तो लाग्यो ?

यो पनि