जेठ ०७, २०८१, सोमबार
               

रात्रीकालीन व्यवसाय व्यवस्थित बनाउन कार्यविधि बनाइने

नेपाल फ्ल्यास
असोज १२, २०७८

ADVERTISEMENT

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले परिणाममुखी र सर्वसाधारणलाई राहतको अनुभूति हुने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

चाडपर्व लक्षित सुरक्षा र बजार अनुगमनसम्बन्धी विषयमा आज मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको बैठकमा उनले सो निर्देशन दिएका हुन् ।

मन्त्री खाँणले चाडपर्वका बेला आमनागरिकलाई सुरक्षित यात्रा र बजारमा गुणस्तरीय खाद्यन्नको सहज आपूर्तिमा ध्यान दिन मातहत निकायका पदाधिकारीलाई निर्देशन दिदै भने, “कार्ययोजना बनाएर मात्र हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुस् ।”

चाडपर्वका बेला बजारमा बढने ट्राफिक जामलाई व्यवस्थापन र सडक मर्मत गरी सञ्चालन गर्न, चोरीलुटपाट र ठगीलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायले एकीकृत रुपमा काम गर्नुपर्ने उनको धारणा थियो ।

रात्रीकालीन र मनोरञ्जन क्षेत्रका व्यवसाय घडी हेरेर बन्द गर्न निर्देशन दिने विषयमा गुनासो आएको उल्लेख गर्दै उनले यसमा आवश्यक कार्यविधि बनाएर व्यवस्थापन गर्नुपर्ने बताए । अवाञ्छित गतिविधि र विकृति फैलिन नदिन मन्त्री खाँणले निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सचिव टेकनारायण पाण्डेले बजारमा वस्तुको मूल्य, म्याद, गुणस्तर र वितरण प्रणालीलाई कसरी चुस्त बनाउने सम्बन्धमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै जनताको जिउधनको सुरक्षाका लागि टोल टोलमा पुगेर नागरिकसँग सहकार्य गर्न प्रहरीलाई सुझाए ।

सो अवसरमा उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, महानगरीय प्रहरी परिसरका प्रमुख र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखहरुले आफ्नो कार्यालयबाट भइरहेका काम र चाडपर्वका बेलामा गरिने सुरक्षा तथा बजार प्रणाली व्यवस्थापनका कार्ययोजनाका बारेमा मन्त्री खाँणलाई अवगत गराएका थिए । 


कस्तो लाग्यो ?

यो पनि