चैत १५, २०८०, बिहीबार
               

प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराइनेछ : मुख्यमन्त्री पोखरेल

नेपाल फ्ल्यास
असोज ०७, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित कोइरालाथोक तिलाहारे खानेपानी तथा सरसफाइ आयोजनाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले खानेपानीको सुविधाबाट वञ्चित रहेका गाउँ बस्तीमा खानेपानी सुविधा पुर्‍याइने बताए । 

हालसम्म गण्डकी प्रदेशका ९४ प्रतिशत नागरिकले आधारभूत खानेपानी सुविधा प्राप्त गरिसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले बाँकी रहेका घरधूरीमा पनि चाँडै खानेपानी पुग्ने बताए । “एक घर एक धारा अभियानअन्तर्गत सरकारले हरेक जनताको घरधूरीमा खानेपानी सुविधा पुर्‍याउँछ”, उनले भने । 

गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, संविधानसभा सदस्य धु्रव वाग्ले, म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना लगायतले सो कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

खानेपानी आयोजनाका लागि प्रदेश सरकारले ४४ लाख, म्याग्दे गाउँपालिकाले २५ लाख लगानी गरेको छ भने स्थानीयवासीले ११ लाखको साझेदारी गरेका छन् । डिप बोरिङ प्रणालीबाट १४६ घरधूरीका ८०० उपभोक्ता लाभान्वित भएका छन् । खानेपानी सुविधा नहुँदा पंधेरा र कुवाबाट पानी ल्याउन बाध्य यहाँका स्थानीयवासी घरघरमै पानी आएपछि खुशी भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि