जेठ ०६, २०८१, आइतबार
               

पोखराका मेयर दुई महिनादेखि अस्वस्थ : महत्वपूर्ण कामकारबाही ठप्प

नेपाल फ्ल्यास
असोज ०३, २०७८

ADVERTISEMENT

पोखरा । पोखरा महानगर प्रमुख मानबहादुर जिसी दुई महिनाभन्दा लामो समयदेखि अस्वस्थ छन् । साउन १ गते मष्तिष्कघात भएपछि उनी काठमाडौंमै उपचाररत छन् । मेयरको सचिवालयका अनुसार पूरा निको भएर काममा फर्किन अझै समय लाग्ने देखिएको छ ।

मेयर जिसीको अस्वस्थतासँगै महानगर लामो समयदेखि प्रमुखविहीन बन्न पुगेको छ । कामकारबाहीलाई अघि बढाउन कार्यवाहकको जिम्मेवारी पनि दिएका छैनन् भने लामो समयदेखि कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन । महानगर बैठक बस्न नसक्दा महत्वपूर्ण योजनाहरुसमेत कार्यान्वयनमा आउन नसकेको भन्दै अन्य जनप्रतिनिधिले विरोध जनाएका छन् ।

बजेट पारित भएको एक हप्ताभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र १५ दिनभित्र वडालाई अख्तियारी दिने कानुनी व्यवस्था भए पनि बेवास्ता गरिएको एक वडाध्यक्षले गुनासो गरे । वडाले बजेट खर्चको अख्तियारी नपाउँदा नयाँ योजनाहरु सञ्चालन गर्न नसकिएको र बजेटविहीन अवस्थामा बस्नु परेको ती वडाध्यक्षको भनाइ छ ।

‘बर्खामा यत्रो प्राकृतिक विपत्ति व्यहोर्नु पर्‍यो । कति डुबानमा परे, कतै पुलमा क्षति पुर्यायो । विपद् कोषमा ५ करोड छ । तर, खर्च हुनै सकेको छैन,’ ती वडाध्यक्ष भन्छन्, ‘महानगर लामो समयदेखि प्रमुखविहीन बन्न पुगेको छ । बैठक बस्न नसक्दा एकमुष्टवाला बजेट बाँडफाँट हुन सकेको छैन । यसरी योजना कार्यान्वयन गर्न कसरी सकिन्छ ?’

एक लाख रुपैयाँभन्दा माथिका योजनालाई कार्यपालिका बैठकले निर्णय गर्नुपर्ने भएकाले ती असार अन्तिमयता कुनै पनि नयाँ योजनाहरु सञ्चालन हुन नसकेको पोखरा १३ का वडाध्यक्ष दर्शन लामा बताउँछन् । ‘आजको दिनसम्म कुनै योजनाहरु सम्झौता भएको छैन । नगर सभाकै निर्णय प्रमाणित भएको छैन । राजश्वको काम पनि लथालिंगै छ । यसले महानगरलाई नै क्षति पुग्ने हो,’ उनले भने ।

मेयरबिनै कार्यपालिका बैठक बस्न सकिने भए पनि नडाकेको उनको गुनासो थियो । उनले लामो समयसम्म मेयर अस्वस्थ हुँदासमेत जिम्मेवारी हस्तान्तरण नगरेर गैरजिम्मेवार बनेको आरोप लगाए । 


कस्तो लाग्यो ?

यो पनि