बैशाख १७, २०८१, सोमबार
               

माधव झुन्डकाे हालत मालेको जस्तो हुन्छ : विष्णु पौडेल

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । बुटवलमा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले विगतमा एमाले फुटाउनेहरूले एक सिट पनि नजिते जस्तै माधव नेपालको हालत पनि त्यस्तै हुने दाबी गरे ।

‘२०५४ मा पनि एमाले विभाजन भएको थियो । ५०/५० प्रतिशत अर्थात् आधा लगेर गएका थिए । महाकाली सन्धि र भारत अमेरिका एजेन्डा थिए । तर पनि मालेले देशभर एक सिट जित्न सकेन,’ उनले भने, ‘अहिले त कुनै सिद्धान्त र नीति होइन, स्वार्थ र इर्ष्याले गएको झुन्डले कुनै सिट जित्ने अवस्था छैन ।’

पौडेलले एमाले नफुटेको पनि दाबी गरे । ‘दल विभाजन कानुनअनुसार एमाले विभाजित हुने नभएपछि २० प्रतिशतको प्रावधान अध्यादेश ल्याउन देउवाको चरणमा निवेदन चढाएर अध्यादेश ल्याएर विभाजनको प्रयास गरियो । विभाजन भएको होइन, स्वार्थी तत्व बाहिरिएको हो,’ उनले भने ।

उनले माधव नेपाल भविष्यमा कांग्रेसमा जाने भएकाले भ्रममा नपर्न कार्यकर्तालाई आह्वान गरे । ‘माधव नेपालको झुन्ड बनेर, माधव नेपालमार्फत कांग्रेसमा जाने, कांग्रेसको सेवा गर्नुपर्ने कुनै जरुरी छैन । माधव नेपाल झुन्डले गरेको गतिविधि सत्य होइन,’ उनले भने ।

कांग्रेसको पछाडि लागेर वामपन्थी शक्ति नबन्ने पनि उनले बताए । ‘यो कुनै सिद्धान्त केन्द्रित लडाइँ थिएन । स्वार्थ केन्द्रित लडाइँ थियो । आफ्नो सरकार गिराएर कांग्रेसको पछि लाग्ने अनि वामपन्थी शक्ति बनाउने ? कांग्रेसको पछि लागेर, दक्षिणपन्थीको पछि लागेर वामपन्थी हुन्छ ?’ उनले प्रश्न गरे । 

‘देउवा प्रधानमन्त्री भएपछि पनि केही स्वार्थी तत्वहरू पार्टीको पक्षमा होइन, पार्टी विभाजनको पक्षमा लागे । हामी कुनै हालतमा एमालेलाई विभाजित हुन दिने छैनौं,’ उनले थपे ।

पौडेलले एमाले जनताको विश्वास जितेर फेरि सत्तामा आउने उद्घोष पनि गरे । ‘प्रतिपक्षमा रहेको चिन्ता नगर्नुस् । छिट्टै चुनाव हुँदैछ । केही महिनाका लागि प्रतिपक्षमा छौं । जब निर्वाचन हुनेछ, तब एमालेले तागत, हैसियत देखाउनेछ र जनताको साथ विश्वास लिएर सरकारमा आउनेछ,’ उनले भने ।

जसरी पनि सत्तामा पुग्ने माओवादी आकांक्षाले पार्टी जीवनमा समस्या आएको र माधव नेपालको कारण पनि अहिले पार्टीमा समस्या आएको उनले आरोप लगाए । ‘प्रचण्डजीहरू कांग्रेसको पछाडि लाग्न तयार भए । कम्युनिस्ट एकताबद्ध राख्न तयार भएनन्,’ उनले भने, ‘एमालेभित्र माधव नेपाल प्रवृत्ति करिब डेढ दशक काम गरेको, प्रधानमन्त्री भएर काम गरे । नीति, सिद्धान्त, विधिमा मत छैन । खाली महत्वाकांक्षाले प्रहार गरे ।’ प्रचण्डसँग मिलेर माधवले पार्टी कब्जाको प्रयास गरेको उनको आरोप थियो ।

‘एमालेका केही स्वार्थी तत्वलाई साथमा लिएर एमाले कब्जा गर्ने नसकेपछि स्वार्थी समूहलाई निकालेर एमाले कमजोर बनाउने प्रयास गरियो,’ उनले भने, ‘माओवादी निस्किए पनि एमाले एकताबद्ध बनाएर सरकार चलाउने अवसर थियो । तर एमालेकै सांसदले विश्वासको मत दिएनन् । एमालेको सरकार गिर्ने अवस्था बन्यो । यो तहको अनुशासनहीनता एमालेमात्र होइन, कुनै पार्टीमा सैह्य छैन ।’ 


कस्तो लाग्यो ?

यो पनि