मंसिर ०७, २०८१, शुक्रबार
               

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा एकीकृत समाजवादीको जिल्ला समिति गठन

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा एमालेका तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो ।
    
नेता बस्नेत यसअघि गठन गरिएको नेकपा (एमाले) को समानान्तर जिल्ला समितिका सचिव थिए । समितिका उपाध्यक्षमा प्रेमानन्दलाल श्रेष्ठ, सचिवमा पुरुषोत्तम लामिछाने र उपसचिवमा रामगोपाल चौगुठी चयन भएका छन् ।

नवगठित कमिटीका अध्यक्ष बस्नेतले जिल्लामा छिट्टै अगुवा कार्यकर्ता भेला गरी वडा, नगर र क्षेत्रीय कमिटी, विद्यार्थी, युवा र महिला कमिटी गठन गर्दै आउँदो स्थानीय तहको निर्वाचन पार्टीको उपस्थितिलाई बलियो बनाउने जानकारी दिए । 

ताप्लेजुङको अध्यक्षमा लामा

ताप्लेजुङमा एकीकृत समाजवादीको अध्यक्षमा छिरिङ लामा चयन भएका छन् । शनिबार सदरमुकाम फुङलिङमा भएको अगुवा कार्यकर्ता भेलाले ७२ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ ।

कमिटीका उपाध्यक्षमा दुर्गाहाङ चोङ्वाङ (लिम्बू) र मञ्जु भट्टराई चयन भएका छन् भने सचिवमा मोहन न्यौपाने र उपसचिवमा रक्की थेबे रहेका छन् ।

एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गणेश काम्बाङको प्रमुख आथित्यतामा भेला सम्पन्न भएको थियो । जिल्लामा २१ जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोज्दै जिल्ला निर्वाचन कार्यालयमा हस्ताक्षर गरेका थिए भने एक जनाले भने हस्ताक्षर फिर्ता लिएका थिए । 

हुम्लामा नेता शर्माका नेतृत्वमा १०१ सदस्यीय कमिटी

हुम्लामाको सिमकोटमा नेकपा एकीकृत समाजवादीले नेता शिवराज शर्माको अध्यक्षतामा १०१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उनी तत्कालीन एमालेका जिल्ला सचिव थिए । 

शनिबार सार्वजनिक गरिएको जिल्ला कमिटी उपाध्यक्षमा तीर्थराज रोकाया, सचिवमा कमल छत्याल र उपसचिवमा प्रेमा लामालाई जिम्मेवारी तोकिएको जिल्ला अध्यक्ष शर्माले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि