एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल गर्न सकिने उनको भनाइ छ ।
युवा संघको लुम्विनी प्रदेश भेलालाई नेपालगञ्न्जमा सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको हित विपरीत हुने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताए ।
'एमसीसीमा भएका बुँदाहरू प्रष्ट हुनुपर्छ । मैले परियोजनाकी उपाध्यक्ष फातिमा सुमारलाई पनि त्यही सुझाव दिएको छु । नेपालको स्वाभिमान कायम हुने गरी जवाफ आए मात्र त्यस विषयमा छलफल गर्न सकिन्छ', नेपालले भने ।
नेपालले एमालेमा कम्युनिस्टको गुण नरहेको समेत टिप्पणी गरेका छन् । उनले एमालेलाई केपी ओलीले निजी कम्पनी जस्तो बनाएकाले बाध्य भएर आफूले विभाजनको बाटो रोज्नु परेको बताए ।
एकीकृत समाजवादीको गठनले एमालेमा नयाँ तरंग पैदा भएको उनको दाबी छ । 'एमालेले प्रतिनिधि सभामा गरेको हर्कत गलत छ । संवैधानिक अंग र सभामुखको मानर्दन गर्ने कार्य निन्दनीय छ । यसले ओलीलाई पतनको बाटोमा लग्ने छ', नेता नेपालले भने ।
आफूहरू माओवादीमा विलय हुने भन्ने हल्ला भ्रम मात्रै भएको उनले बताए । आगामी निर्वाचनमा गठबन्धन भने गरेर अगाडि बढ्ने उनले बताए ।