बैशाख २०, २०८१, बिहीबार
               

संसदमा टेबल भएपछि एमसीसीबारे तत्काल निर्णय गर्छौं : विष्णु पौडेल

नेपाल फ्ल्यास
भदौ २३, २०७८

ADVERTISEMENT

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबल भएपछि एमालेले तत्काल निर्णय गर्ने बताएका छन् ।

सरकारमा रहेका दलहरुबीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले एमालेमा समस्या नरहेको दावी गरे । बुधबार बुटवलमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा पौडेलले एमसीसीबारे एमालेले पहिल्यै निर्णय गरेर नबसेको बताए । ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं,’ पौडेलले भने, ‘बरु सरकार नै यसबारेमा रंगिबिरंगी छ ।’ पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको बताएका छन् । ‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तै हो ।’

कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले बताए । ‘४० प्रतिशतलाई २० प्रतिशतमा झारेर एमाले विभाजन गर्ने कोशिश गरिएको छ,’ पौडेलले भने, ‘म प्रधानमन्त्री देउवालाई चुनौतिका साथ भन्न चाहन्छु हिम्मत छ भने अध्यादेशलाई निरन्तरता दिनुस् ।’  तर सरकारले केही हप्तापछि अध्यादेशलाई निस्कृय बनाउने दावी उनले गरे ।

आउँदो चुनावमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने पौडेलले दावी गरे । ‘प्रतिपक्षमा हुँदा पनि एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर सत्ता पक्षले महागठबन्धन गर्दैछ,’ पौडेलले भने, ‘यसले पनि एमालेको शक्ति कति छ भनेर पुष्टि गर्छ ।’ माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेजस्तै भएको पौडेलले टिप्पणी गरे । ‘यो गम्भीर अपराध हो, यसलाई इतिहासले माफ गर्दैन,’ पौडेलले भने, ‘विभाजन सिद्धान्त र एजेण्डाका आधारमा भएको होइन, औचित्य पुष्टि हुन सक्दैन ।’

माधव नेपाल नेतृत्वको पार्टी एक्लै चुनाव लड्न नसक्ने र गठबन्धन गरेर लड्न अरुले बैशाखी नदिने हुँदा बितारा पर्ने पौडेलले दावी गरे ।एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाए । एमाले विभाजन गर्न सभामुखले पदको दुरुपयोग गरेको उनको आरोप छ ।

आफूले ल्याएको बजेट सबै क्षेत्रले स्वागत गरेको दाबी गर्दै पौडेलले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउन खोजिएकोप्रति आपत्ति जनाए । कार्यदलले बुझाएको १० बुँदे सिफारिस लुम्बिनी प्रदेशका सबै जिल्लामा सिर्जनात्मक ढंगले कार्यान्वयन हुने पौडेलले बताए । उनले अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन आग्रह गरे ।

नेकपा हुंदै अध्यक्ष ओलीमाथि लगाइएका १८ बुंदे आरोप नै पार्टी विभाजनको शुरुवात भएको पौडेलले दावी गरे । कार्यक्षेत्र बाहिर गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै उनले सर्वोच्च अदालतको आलोचना गरे ।


कस्तो लाग्यो ?

यो पनि