बैशाख २०, २०८१, बिहीबार
               

बागमतीका १३ सांसद र मकवानपुरका ३९ जनप्रतिनिधिले रोजे नेकपा समाजवादी

नेपाल फ्ल्यास
भदौ २२, २०७८

ADVERTISEMENT

हेटौंडा । निर्वाचन आयोगले जनप्रतिनिधिलाई दल रोज्न दिएको समयसीमा मंगलबार सकिएको छ । सरकारले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याएसँगै नेकपा एमाले र जसपा विभाजन भएको थियो । 

बागमती प्रदेशमा नेकपा एमाले विभाजन हुँदा भाद्र २ गतेबाट मंगलबार साँझ ५ बजेसम्म १३ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

नेकपा एमालेबाट सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, मिना ज्ञवाली, कृष्ण खनाल, कुसुमकुमार कार्की, माधव पौडेल, रमा आले, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ र वसन्त मानन्धर लगायतले समाजवादी रोजेका हुन् । 

यस्तै मकवापनुरका दुई स्थानीय तहका प्रमुख र दुई स्थानीय तहका उपप्रमुखले समाजवादी रोजेका छन् । मकवापनुरको हेटौंडा उपमहानगरका उपमेयर मिना कुमारी लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, इन्द्रसरोबार गाउँपालिकाका अध्यक्ष जीवन लामा, मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट लगायत ३९ जना स्थानीय तहको जनप्रतिनिधहरुले समाजवादीको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका सुचना अधिकारी सम्झना ढकालले बताइन् । 

माधव नेपालले नयाँ दल दर्ता गरेसँगै बागमती प्रदेशको राजनीतिमा उत्तारचढाव आएको थियो । बागमती प्रदेशको तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले भाद्र २ गते संसदीय दलको नेताबाट राजनीतिमा दिएका थिए । सोही दिन आफ्नो प्रस्तावमा दलको नेतामा माधव नेपाल पक्षधरकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्रीमा नियुक्तीको लागि सिफारिस उनैले गरे । 

भाद्र २ गते बागमती प्रदेशको तत्कालीन प्रदेश प्रमुख विष्णु प्रसाईले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । भाद्र २ गते दल विभाजन हुने अवस्था देखिएसँगै बागमती प्रदेशमा २ मन्त्री पनि विस्तार गरियो । तर प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त गरेको २ दिनमा एमालेलाई ठुलो झट्का लाग्यो । पूर्व प्रधानमन्त्री केपि ओली निकट प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईलाई जिम्मेवारीबाट हटाइएको थियो । 

मन्त्रीमा नियुक्त भएर सामाजिक विकास मन्त्री बनेका कृष्ण खनाल केही दिनमै समाजवादीमा खुले । १३ सांसद एमालेबाट समाजवादीमा रोजेसँगै बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा प¥यो । मुख्यमन्त्रीमा नियुक्त भएको २१ दिनमा शाक्य अल्पमतमा परेकी हुन् । 

मुख्यमन्त्री शाक्यले अल्पमतमा परेपनि सबैलाई मिलाएर अघि बढ्ने बताएकी छिन् । बागमती प्रदेशमा अहिले नेकपा एमालेको एक सभामुखसहित ४३ सांसद छ । प्रदेशमा जुनै सरकार आएपनि अन्य दलहरुसँग सहकार्य गर्ने पर्ने देखिएको छ । 

अहिले बागमती प्रदेश सभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीको १३, विवेकशील ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र १ रहेका छन् । नेकपा एमालेले अहिलेको अवस्थामा साना दलहरुको सहयोग भएपनि सरकार जोगाउन सक्ने अवस्था देखिदैन । बागमती प्रदेशमा एमालेले अब नेकपा एस, माओवादी र कांग्रेसमध्ये एकसँग सहकार्य गर्ने सम्भावना बढेको छ । 


कस्तो लाग्यो ?

यो पनि