बैशाख २३, २०८१, आइतबार
               

तुइन घटनालाई थामथुम पार्न खोजिएको एमालेको आरोप

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

नेकपा (एमाले)ले जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् । 

धामीको सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको संयोजत्वमा गठित छानविन समितिले गत १५ भदौमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो । 

‘आफ्नो नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ’, ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नागरिकको जीवनसँग जोडिएको गम्भीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै एमालेले उक्त घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ । 

१५ साउन २०७८ मा महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर दार्चुलाको व्यास गाउँपालिकाका- २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । उनी बेपत्ता भएको एक महिनापछि छानविन समितिले प्रतिवेदन बुझाएको थियो ।

साथै, उनका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षा-दीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरिएको छ ।

यो पनि