बैशाख २३, २०८१, आइतबार
               

माधव नेपालले शेयर गरे आफ्नो पार्टीको पहिलो प्रेस वक्तव्य

नेपाल फ्ल्यास
भदौ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक बिहीबार पत्रकार सम्मेलनको आयोजना गरियो ।

पत्रकार सम्मेलनका प्रमुख वक्ता थिए नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल । 

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष नेपालले कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा समाहित हुन आग्रह गरे । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दक्षिणपन्थी भासमा फसेको र प्रतिगामी कदम चालेको आरोप लगाए ।

यसैबीच बिहीबार राति अध्यक्ष नेपालले पार्टीको केन्द्रीय कमिटीद्वारा सार्वजनिक प्रेस वक्तव्य सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।

'नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को उदय भएको छ', विज्ञप्तिमा लेखिएको छ ।

उक्त विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) किन जन्मियो र यो पार्टीले के गर्छ भन्ने प्रश्नको जवाफ समेटिएको छ ।

'नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता कमरेड मदन भण्डारीले स्थापित गर्नुभएको विचार, दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ । त्यसका निम्ति नेकपालाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ', विज्ञप्तिमा भनिएको छ, 'नेकपाको पुनर्गठन र रूपान्तरणको यस महाअभियानमा आआफ्नो ठाउँमा खट्नुहुन र सहयोग पु¥याउनुहुन सवैमा हार्दिक आह्वान गर्दछौँ ।'

यस्तो छ प्रेस वक्तव्य

आदरणीय जनसमुदाय तथा प्रिय कमरेडहरू, 

नेपाली कम्युनिष्ट आन्दोलनको उतारचढावपूर्ण इतिहासमा फेरि एउटा विद्रोह भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिकारी धार दिई नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को उदय भएको छ । दक्षिणपन्थी अवसरवादीहरूबाट मात्रै होइन मध्यपन्थी अवसरवादीहरूबाट समेत गरिएका अनेकन जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयाससमेत सबैलाई परास्त गर्दै विद्रोह सफल भएको छ र यही २०७८ भाद्र ९ मा नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । यस विद्रोहमा साथ समर्थन दिनुहुने सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र सहयोगी महानुभावहरू सवैमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ । 
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेपाली सर्वहारा श्रमजीवी वर्ग र आम नेपाली न्यायप्रेमी एवम् क्रान्तिकारी जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी हो । यो पार्टी २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा स्थापित नेपाल कम्युनिष्ट पार्टीको वर्तमान स्वरूप हो । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो स्थापना कालदेखि जुन लक्ष्य–उद्देश्य राखेको थियो ती लक्ष्य–उद्देश्य नै यस पार्टीका लक्ष्य–उद्देश्य हुन् । नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी वैज्ञानिक समाजवादको स्थापना गर्ने र समाजमा रहेका सवैखाले विभेदहरूको अन्त्य गरी समानतासहितको स्वतन्त्रता भएको समाज अर्थात साम्यवादी समाजको स्थापना गर्ने ती लक्ष्य उद्देश्यहरूमध्ये केही मात्र प्राप्त भएका छन् र अझै धेरै काम गर्न बाँकी छ । यो पार्टी ती सवै लक्ष्य प्राप्तिको सङ्घर्षमा डटिरहने प्रतिबद्धता जाहेर गर्दछ । 

आदरणीय जनसमुदाय तथा प्रिय कमरेडहरू, 

हामी हाम्रा अग्रजहरूले प्रस्तुत गर्नुभएका क्रान्तिकारी दृष्टिकोण, सहिदहरूको वलिदान र हजारौँ योद्धाहरूको त्याग, तपस्या र कठोर परिश्रमबाट निर्मित गौरवमय इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अबसरवादको भासमा डुब्न र विसर्जन हुनबाट जोगाउन चाहन्छौँ । हामी नेकपाले आफ्नो स्थापना कालदेखि नै राष्ट्र र जनताकासामु राखेका लक्ष्य–उद्देश्यहरू प्राप्त गर्ने दिशामा दृढ कदमका साथ अगाडि बढ्न चाहन्छौँ । त्यसका निम्ति क्रान्तिकारी दृष्टिकोण, मुलुकको राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान र वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्ने पूर्ण प्रतिबद्धताका साथ कदम चाल्न चाहन्छौँ । नेपाली जनताको लामो सङ्घर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरूको रक्षा र विकासका निम्ति पनि हामी दृढताका साथ अगाडि बढ्न चाहन्छौँ । यही दायित्बोधका साथ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा, पुनर्गठन र रूपान्तरण गर्न चाहन्छौँ । यस महान कार्यमा सबैबाट हार्दिक सहयोगको अपेक्षा पनि गर्दछौँ । 

हामी देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको हाम्रो दायित्वबाट पञ्छिन सक्तैनौँ । हामी हाम्रो राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख हुन पनि सक्तैनौँ । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानप्रतिको दृढ अडान, समाजवादी ध्येयप्रतिको अटल विश्वासजस्ता असल मान्यतामा अडिइरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ । नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता कमरेड मदन भण्डारीले स्थापित गर्नुभएको विचार, दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणाली तथा जनपक्षीय आचरणलाई बचाइराख्न चाहन्छौँ । त्यसका निम्ति नेकपालाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित गर्ने अभियान चलाउनु आवश्यक छ । नेकपाको पुनर्गठन र रूपान्तरणको यस महाअभियानमा आआफ्नो ठाउँमा खट्नुहुन र सहयोग पु¥याउनुहुन सवैमा हार्दिक आह्वान गर्दछौँ । 

वर्तमान राष्ट्रिय राजनीतिका सन्दर्भमा हामी मुलुकमा राजनीतिक स्थिरता कायम गर्न चाहन्छौँ । त्यसका निम्ति चालु प्रतिनिधी सभालाई पूर्ण कार्यकाल टिकाउन चाहन्छौँ । संविधानको रक्षा गर्न र लोकतन्त्रलाई बलियो बनाउन चाहन्छौँ । सरकारले सुशासन र पारदर्शितलाई दृढताका साथ अवलम्बन गरोस् भन्ने चाहन्छौं । सरकारबाट जनहित जनसरोकारका काम होउन भन्ने चाहन्छौँ । हामी जनताका इच्छा, आकांक्षा, चाहना र समस्याको यथाशीघ्र यथोचित रुपमा तदारुकताका साथ सम्बोधन होस् भन्ने चाहन्छौं । राष्ट्रिय विकासका काम तथा अभियानहरु अगाडि बढाउन चाहन्छौँ । यिनै उद्देश्यका साथ आगामी दिनमा हामी क्रियाशील हुनेछौँ । यी कार्यमा सबैबाट सहयोगको अपेक्षा पनि गर्दछौँ । धन्यवाद । 

केन्द्रीय कमिटी,
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२०७८-०५-१०


कस्तो लाग्यो ?

यो पनि