बैशाख ०८, २०८१, शनिबार
               

'अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु, कांग्रेस-माओवादी डरले थर्कमान छन्'

नेपाल फ्ल्यास
भदौ ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए । महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उनले भने, ‘म अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छु ।’

ओली पक्षका नेताहरुले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका छन् । तर ओलीले भने यसबारे बोलेका छैनन् ।

कारवाही रोकेर सभामुख दाँत टाल्न जानुभयो

अध्यक्ष ओलीले आफ्नो पार्टीका १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्न रोकेको भन्दै फेरि एकपटक सभामुख अग्नि सापकाटामाथि खनिएका छन् । 

एमालेले गरेको कारवाही ७ दिनसम्म रोकेर सभामुखले आफू नै न्यायालय बन्न खोजेको ओलीले आरोप लगाए । ओलीले पार्टीले कारवाही गरिसकेपछि सभामुखले त्यसलाई विचाराधीन राख्ने अधिकार नभएको बताए ।

ओलीले भने, ‘प्रचण्डले आदेश दिँदा टोपबहादुर रायमाझीजीहरुमाथि हतार–हतार कारवाही गरेको सुनाउनुभो । तर, एमालेले गरेको कारवाही गरेको नौ दिनसम्म कार्यान्वयन गर्नुभएको छैन । हिजो त उहाँ दाँत टाल्न जानुभएको थियो ।’

उनले थपे, ‘उहाँको दाँत राम्रोसँग टालियोस्, शुभकामना छ, तर सातौं दिनसम्म उहाँले के गर्नुभयो ?’

ओलीले आफ्नो पार्टीमा विभाजन रोक्नका लागि १४ जनामाथि कारवाही गरिएको दावी गरे ।

‘हामीले कारवाही गर्नुको उद्देश्य पार्टी फुट रोक्नु थियो,’ ओलीले भने, ‘१४ जनालाई निस्काशन गरेको भए उहाँहरुको संख्या पुग्दैनथ्यो र पार्टी फुट्दैन थियो । तर, एमाले फुटाउनकै लागि कारवाहीको सूचना नटाँसेर सभामुखले पक्षधरता देखाइरहनुभएको छ । उहाँ साझा व्यक्तित्व बन्न सक्नुभएन ।’

सांसदहरुलाई घर-घरबाट थुतेर, थुनेर राखियो

अध्यक्ष ओलीले माधव नेपालप्रति पनि कटाक्ष गरेका छन् । उनले एमाले फुटाउन सांसदहरुलाई घर घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखेको आरोप लगाए ।

ओलीले बलजफ्ती, अपहरणकारी र ज्यादतीपूर्ण ढंगले एमालेका सांसदहरुलाई चन्द्रागिरीमा लगेर थुनेर राखेको बताएका हुन् । ‘अपहरणकारी, ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर । फकाइ फकाइ लगेर, राम्रै विस्तारमा सुतेर, राम्रै खान दिएर मान्छे घर घरबाट तानेर थुनियो’ ओलीको आरोप छ ।

उनले रिसोर्ट वा चाहे फइभस्टारमा होटलमै राखेको भए पनि ‘त्यो सांसदहरुलाई थुनिएकै हो’ भनेर दावी गरे । ओलीले त्यसरी सांसदहरुलाई थुनेर राख्दा पनि बैठक भनेर सञ्चारमाध्यमहरुले प्रचार गरेको भन्दै वास्तवमा त्यो कुनै पार्टी कमिटीको बैठक नभएको दावी गरे । 

कांग्रेस र माओवादी डरले थर्कमान छन्

अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने नियतका साथ दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको बताएका छन् । 

ओलीले एमाले फुटाइसकेकाले जुनसुकै बेला उक्त अध्यादेश सरकारले फिर्ता लिन सक्ने पनि बताए । 

'१२ बजे राति संसद अन्त्य गरेर बिहानै अध्यादेश ल्याइन्छ', उनले भने, 'एमाले विभाजनका लागि ल्याएको हो त्यो अध्यादेश, माधव नेपाललाई सोधेर वा गरौँ कि र गरौँ भनी भनी २० प्रतिशतको थ्रेस होल्ड राखेर अध्यादेश ल्याइएको छ ।'

माधव नेपालले एमाले फुटाइसकेपछि उक्त अध्यादेश रद्ध गर्ने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको पनि ओलीले बताए । 'माधव नेपालजीले पार्टी फुटाइसकेपछि अध्यादेश स्वतः रद्ध गर्ने तयारीमा छन्', उनले भने, 'उनीहरु (शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड) थर्कमान छन्, आफ्नै पार्टीमा पहिरो जाने डरले ।'

अध्यादेशबारे भिन्नता

ओलीले आफ्नो सरकारले ल्याएको र अहिले ल्याएको अध्यादेश फरक रहेको पनि बताएका छन् । 'पहिलेको र अहिलेको अध्यादेश उस्तै होइन', उनले भने, 'मैले अध्यादेश ल्याउँदा कुनै पार्टी फुट्ने अवस्था थिएन । फ्लोर क्रस पनि चलेको थिएन । असाधारण र असामान्य अवस्था कहीँ पनि थिएन ।'

यो पनि