बैशाख २४, २०८१, सोमबार
               

'ओलीले घर न घाटको बनाउने षड्यन्त्र गरे, हाम्रो पार्टीको ढोका खुला छ'
अष्टलक्ष्मी शाक्य सल्लाहमै मुख्यमन्त्री

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले विचार र धारण परिवर्तन गरे उनका लागि ढोका खुला रहेको बताएका छन् । 

चन्द्रागिरिमा पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको बुद्धि सुध्रिएर विचार र धारणा परिवर्तन भए ढोका खुला रहेको बताएका हुन् ।

‘केपी ओलीले विचार र धारणा परिवर्तन गर्छन् भने उनलाई हाम्रो पार्टीको ढोका खुला छ’, नेता नेपालको भनाइ छ । 

उनले अझै पनि आफूलाई ओलीले घर न घाटको बनाउने षड्यन्त्र जारी राखेको भन्दै त्यसलाई असफल पार्दै अघि बढ्ने दाबी गरे । त्यस्तै उनले ओलीमा सद्बुद्धि पलाओस् भन्ने कामना गरेको बताए ।

घर न घाटको बनाउने षड्यन्त्र

नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र हुँदै आएकोमा त्यसलाई चिरेर आफूहरुले नयाँ पार्टी गठन गरेको बताएका छन् ।

‘हामीलाई घर न घाटको बनाउने षडयन्त्र भइरहेको छ । मौका पाए समाप्त पारिदिने, सबै किसिमको आन्दोलनबाट हटाउने षडयन्त्र असफल पार्छौ’, नेता नेपालले भने ।

केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी बनाउन थालेपछि आफूहरुले पार्टीमा विद्रोह गरेको उनले बताए । उनले आफूहरुले ओलीको गलत प्रवृत्तिविरुद्ध विचार, मूल्य र मान्यताको लडाई लडेको पनि बताए ।

उनले ओलीको नेतृत्वमा एमालेमा कुनै सुधारको लक्षण नदेखिएका कारण आफूहरुले नयाँ राजनीतिक शक्ति निर्माण गरेको उल्लेख गरे । उनले भने, ‘घर न घाटको हुने अवस्था देखिएपछि नयाँ पार्टी बनाउने विषयमा छलफल भयो, केही सहमत हुनुभयो, केहीले भने पार्टी तत्काल नफुटाउँ भन्ने कुरा रह्यो, केहीको तुरुन्त पार्टी खोलौं भन्ने आवाज थियो ।’

जेठ २ गतेमा फर्कने भनेर ओलीले बहाना बनाएको उनको आरोप छ । पार्टीलाई एक हुन नदिने र विभिन्न बहाना बनाएर अल्झाइराख्ने नियत देखिएपछि आफूहरुले पार्टीमा विद्रोह गर्दै नयाँ दल निर्माण गरेको उनले बताए ।

इतिहासमा पनि यस प्रकारको विद्रोह बारम्बार देखिएको उदाहरण दिँदै उनले भने, ‘दोस्रो महाधिवेशनमा केशरजङ्ग हुँदा हुँदै रुपान्तरण सम्भव थिएन र पुष्पलालले विद्रोह गर्नुभयो, यस्तो विद्रोह अनेक पटक भएका छन् ।’

ओलीले आफ्नो पद धरापमा पर्छ भन्ने बुझिसकेपछि संसद विघटन गरेको उनको आरोप थियो । ‘एउटै प्रधानमन्त्रीले दुई पटकसम्म संसद विघटन गरेको इतिहास कायम भएको छ,’ उनले भने, ‘त्यसपछि संसद जोगाउनका लागि हामीले पार्टीभित्र विद्रोहको आवाज उठायौं ।’

अष्टलक्ष्मी शाक्य सल्लाहमै मुख्यमन्त्री

अध्यक्ष नेपालले सल्लाहमै अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री बनेको खुलासा गरेका छन् । शाक्य वागमतीको मुख्यमन्त्री आफ्नै सल्लाहमा बनेको उनले बताएका हुन् ।

‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो । तर अहिले अप्ठेरोमा हुनुहुन्छ’, नेता नेपालले भने, ‘अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो’, नेपालको भनाइ छ ।

नेपालले त्यसपछि मात्रै वागमती प्रदेश सरकारबारे आफ्नो पार्टीले धारण बनाउने पनि बताए । ‘२१ दिनभित्र रोज्न पाउने व्यवस्था अनुसार त्यो समयभित्र कता रोज्नुहुन्छ, त्यसका आधारमा त्यो सरकारलाई हेर्ने दृष्टिकोण बन्छ’, नेपालले भने । 


कस्तो लाग्यो ?

यो पनि