जेठ ०४, २०८१, शुक्रबार
               

कुलमान घिसिङविरुद्धको रिटको सुनुवाइ आज हुँदै

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटको सुनुवाइ आज हुने भएको छ । प्राधिकरणका पूर्व निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ आज हुने भएको हो । 

भदौ २ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा तोकिएको रिट सुनुवाइ ‘हेर्न नभ्याइने’मा राखिएको थियो । शाक्यले गत साउन ३२ गते वारेसमार्फत नियुक्तिको निर्णय बदर हुनुपर्ने मागसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

सुरुमा अर्को भूमिकामा जान राजी भएको मिडियामा अभिव्यक्ति दिएका हितेन्द्र एक सातापछि अदालत गएका थिए । हितेन्द्रलाई सरकारले विशिष्ट श्रेणीको पद सिर्जना गरेर जल तथा ऊर्जा आयोगमा लगेको थियो । हितेन्द्रकै चाहनाअनुसार उनलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक सरहको सेवा सुविधा उपलब्ध गराइएको थियो । 

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । साउन २७ मा नियुक्तिपत्र बुझे लगत्तै घिसिङले सोही दिन पदबहाली गरेका छन् ।

३५ अर्ब घाटाबाट वार्षिक १२ अर्ब मुनाफा गरेर घिसिङले आफ्नो पहिलो कार्यकालमा चमत्कारिक सफलता दिएका थिए । विद्युत् प्राधिकरण नेपालकै सर्वाधिक नाफा गर्ने सरकारी संस्थान बनेको थियो ।

घिसिङले विद्युत् चुहावट २६ बाट १५ प्रतिशतमा झारेका थिए । हितेन्द्रको एक वर्षे कार्यकालमा प्राधिकरणको अपेक्षित नाफा ७० प्रतिशतले घटेको थियो । विद्युत् चुहावट बढेको थियो । बेला बेलामा झ्याप्प–झ्याप्प बत्ती जाने समस्या पनि हितेन्द्रको कार्यकालमा उपभोक्तालाई 'उपहार' भएको थियो ।

घिसिङको आगमनसँगै बत्ती जाने समस्या कम गर्ने काम तीव्र गतिमा भइरहेको प्राधिकरणले जनाएको छ । यसका लागि घिसिङले कर्मचारीहरूलाई निर्देशन दिइसकेका छन् । लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या यथावत् रहेपछि घिसिङ त्यो समस्या समाधानमा जुटेका छन् ।

किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको थियो । यस्तै, नयाँ बत्ती जडानका लागि मिटरसमेत अभाव भएको थियो ।

एकातिर फोन नउठ्ने, उठी हाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो । पछिल्लो एक वर्षमा आम उपभोक्ताले यस्ता भोग्दै आएका छन् । 

समस्या बढ्दै गएपछि त्यसलाई समाधान गर्न प्राधिकरणले पहल थालेको हो । प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा पुनः नियुक्ति भएर आएपछि घिसिङले उपभोक्ता भनेका देवता समान रहेको भन्दै समस्या समाधानका लागि पहल थालेका छन् ।

विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।

यो पनि