जेठ ०४, २०८१, शुक्रबार
               

१० बुँदे कार्यान्वयन गर्न ओली तयार,  १४ सांसदमाथिको कारबाही फिर्ता गरिने

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी बचाउन सकारात्मक देखिएका छन् । नयाँ दल दर्ताका लागि माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूसँग सोमबार भएको छलफलमा ओलीले सबैलाई जिम्मेवारी दिएर आफू अघि बढ्ने बताएका हुन् । 

एकताका लागि कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार भएका हुन । साथै १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिने आश्वासन पनि ओलीले दिएका छन् । एकतामा सामेल हुने सन्दर्भमा विगतका कमीकमजोरी सच्याउन पनि ओली तयार भएका छन् । ‘उहाँले एमाले राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सबै साथीहरुलाई जिम्मेवारी दिने भन्नुभएको छ’, छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले भने । आफूहरूले ओलीलाई एमाले एकता बचाइराख्न १० बुँदे प्रस्ताव कार्यान्वयन गर्नुपर्छ भन्नेमा जोड दिएको भट्टराईको भनाइ छ ।

 
१४ जना सांसदको कारबाही फिर्ता लिन भने नयाँ पार्टी गठन प्रक्रियाबाट अलग हुनुपर्ने ओलीको शर्त छ। भट्टराईले भने, ‘हामी एकताका लागि अन्तिम पहलकदमी लिने प्रयासमा छौं ।’ अध्यक्षसँग १० बुँदे कार्यान्वयन गर्न सहमति जुटाइने नेता भट्टराईले  बताए । 

सहमति कार्यान्वयनको ढाँचा तय गर्न स्थायी समिति बैठक बोलाउन ओली सहमत भएका छन् । बैठक मंगलबार बिहान ११ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।  पार्टी विभाजनपछि पहिलोपटक एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो । पार्टी दर्ताका समयमा माधव नेपालको साथ छोडेका नेताहरु पनि भोलिको बैठकमा सहभागी हुने बताइएको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा  सोमबार भएको छलफलपछि उनीहरु स्थायी कमिटी बैठकमा सहभागी हुन तयार भएका हुन् । छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको प्रवक्ता ज्ञवालीले बताए ।

२०७५ जेठ २ गते कायम रहेको नेकपा एमालेका सबै कमिटी क्रियाशील हुने छलफलको निष्कर्ष रहेको उनलेे बताए । ‘अध्यक्षले नेताहरुको जिम्मेवारी यथावत् रहन्छ भन्नुभएको छ । स्थायी समिति बैठक अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेताहरुलाई प्रक्रिया स्थगित गर्न र पार्टी एकताका पक्षमा आउन आह्वान गरिनेछ’, भट्टराईले  भने, ‘देशभरका एमालेका सबै साथीलाई विभाजनका पक्षमा नजाऔं, पार्टीभित्र कसै माथि पनि पक्षपात र अन्याय हुँदैन भनेर स्थायी समितिले आश्वस्त पार्छ ।’
अध्यक्ष ओलीसँगको छलफलमा भीम रावल, भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई थिए सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि