काठमाडौं । नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर हिँडेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए । तर, डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर हिँडेका हुन् ।
यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रममा एमाले सांसदहरुले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएपछि चर्काचर्की नै भएको थियो ।
एमाले सांसद शान्ता चौधरीले बिहीबार सभामुखले एमालेले कारबाही गरेको सांसदलाई पदमुक्त गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगरेको आरोप लगाइन् । उनले आज भने सभामुखले आफूहरुसँग फेस गर्न नचाहेको आरोप लगाइन् ।
उनले हिजो सभामुखसँग चर्काचर्की भएको स्वीकार्दै भनिन्, ‘हामीले किन ढिलासुस्ती गर्नुभएको छ, हिजो त माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई कारबाही गर्दा कारबाही सिफारिस गरेको २४ घण्टा नबित्दै सिफारिस गर्नुभयो । आज एमालेले कारबाही गर्दा किन बायस्ट हुनुभयो भन्दा उहाँ चर्किनु भयो ।
आज पनि सभामुखले पदमुक्त गर्न आलटाल गरे एमाले चुप लागेर नबस्ने उनले चेतावनी दिइन् ।