बैशाख २४, २०८१, सोमबार
               

माधवसँग नगएका नेताहरुको संयुक्त वक्तव्य- विभाजनले हित गर्दैन

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले विभाजित हुँदा संस्थापनतिरै लागेका यसअघि माधव कुमार नेपाल निकट भनेर चिनिएका ९ नेताले पार्टीलाई विभाजन र तहसनहस हुनबाट बचाउन यसअघि कार्यदलस्तरमा भएको १० बुँदे सहमतिको तत्काल कार्यान्वयनमा जोड दिएका छन् ।

पार्टी अध्यक्ष केपी ओलीलाई अधिकतम् लचिलो हुँदै वरिष्ठ नेता माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही तत्काल फिर्ता लिन पनि उनीहरुले आग्रह गरेका छन् ।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी विभाजनले कसैकोपनि हित नगर्ने भएकोले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताहरुलाई त्यस्तो प्रक्रिया रोकी पार्टी एकताको लागि तत्पर हुन अनुरोध समेत गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको सात दशक लामो इतिहासमा विभिन्न कालखण्डमा भएका विभाजनका पीडादायी परिणामहरु छर्लङ्गै रहेको भन्दै उनीहरुले त्यसबाट पाठ सिक्नुपर्ने धारणा पनि राखेका छन् ।

विज्ञप्ति जारी गर्नेमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

उनीहरुले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने माग समेत अघि सारेका छन् ।


कस्तो लाग्यो ?

यो पनि