जेठ ०६, २०८१, आइतबार
               

माधवसहित १४ सांसदमाथिको कारबाहीमा किन रोके सभामुखले ?

नेपाल फ्ल्यास
भदौ ०३, २०७८

ADVERTISEMENT

सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको १४ सांसदमाथि गरिएको कारवाही रोकेका छन् । एमाले संसदीय दलले कारवाही गरेको तीन दिन भइसक्दा पनि सभामुखले प्रक्रिया अघि बढाएका छैनन् । 

सभामुखले प्रकृयाअघि नबढाएपछि कारवाही छिटो गर्न माग गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टरार्यले ध्यानाकर्षण गरेका छन् । यद्यपि सभामुख स्रोतले भने कानुनअनुसार टुंगो लगाउने प्रयास भइरहेको बताएको छ । यस विषयलाई छिटो निष्कर्षमा पुर्‍याउन अध्ययन, छलफल र परामर्शमा रहेको पनि बताइएको छ ।

एमाले सांसद माधवकुमार नेपालसहितका १४ सांसदको कारवाही छिटो निर्णय गर्न भन्दै दबाब दिन पुगेका राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुसँग सभामुख सापकोटाले भने ‘म यस विषयलाई छिटो निष्कर्षमा पुर्‍याउन भनेरै अध्ययन, परामर्श र छलफलमा छु, संविधान, नियम र कानुन अनुसार टुंग्याउनतिरै लाग्या छु ।’ 

सरकारले दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने तयारी गरेको सुइँको पाएर मंगलबार एमालेले वरिष्ठ नेता नेपालसहितका १४ सांसदलाई कारवाही गर्न संघीय संसद सचिवालयमा पत्र दर्ता गराएको थियो ।  सचिवालयका महासचिव डा. भरत गौतमकहाँ दर्ता भएको कारवाहीको पत्रबारेमा बुधबार बिहान मात्रै सभामुखलाई जानकारी गराइएको थियो । 

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख २७ गते विश्वासको मत लिने क्रममा दलको ह्वीप उल्लंघन गरेको आरोपमा साउन २५ गते नेता नेपालसहितका १४ सांसदलाई कारवाही गर्दै त्यसको जानकारी संसद सचिवालय र निर्वाचन आयोगलाई दिएको थियो ।

कारवाहीको सूचना टाँस्न माग गर्दै पुगेका एमाले सचेतक विशाल भट्टराईले यसअघि सभामुखले जसपा सांसद सरिता गिरी र माओवादी त्यागेका ४ सांसदको कारवाही ४८ घण्टा टुङ्ग्याएको नजिर पेश गरेका थिए । तर, एमालेले कारबाही गरेका १४ सांसदमाथि ७२ घण्टा हुँदा पनि सभामुखले निर्णय लिन नसकेको भन्दै सभामुखमाथि उनीहरुले दबाब दिएका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि