लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका बिना विभागीयमन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुखलाई आज पत्र बुझाएको छ । एमाले संसदीय दलले एमालेको सुर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टीको बिधान र संसदीय दलको बिधान नियमविपरीत र पार्टीको निर्देशन बिपरीत गतिविधि गरेको भन्दै पदमुक्त गर्न समामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएका हुन् ।
एमाले संसदीय दलका मुख्यसचेतक भूमिश्वर ढकालले पार्टीको हितविपरित गतिविधि गरेको भन्दै पदमुक्त गर्न प्रदेशसभामा पत्र बुझाएको जानकारी दिए । प्रमुख सचेतक ढकालले भने, 'उहाँहरु (शाही र वली)ले पार्टीको नीति निर्देशन मान्नु भएन, पार्टीको ह्विप विपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गर्ने, तथा संसदीय दलको निर्देशन बिपरीत नवगठित मन्त्रीपरिषदमा सहभागी हुने गरेकोले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौं ।'
२०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट अजय शाही सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए भने बिमला खत्री वली एमाले नेता/सांसद उत्तरकुमार वलीको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।
शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्विप नलाग्ने दावी गर्दै आएका छन् भने विमला खत्री वली कहिले एमाले कहिले नेकपा माओवादी भएको भन्दै विवादास्पद बन्दै आएकी छन् ।