काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ ।
आज (शुक्रबार) को बैठकमा शून्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकाले सभामुख अग्नि सापकोटाले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आजको बैठक सुरु हुनासाथ नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले बिहीबारको प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको शब्दप्रति एमालेले आपत्ति जनाएको थियो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यादवको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे ।
उनको मागपछि सभामुख अग्नि सापकोटाले मातृकाको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।
यादवले बिहीबार 'ओलीमा मेन्टल्ली र फिजिकक्ली समस्या रहेको' विवादित अभिव्यक्ति दिएका थिए ।
त्यसपछि शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आ-आफ्नो धारणा राखेपछि बैठक सकिएको घोषणा गरिएको हो ।