माओवादी केन्द्रका सांसद मातृका यादवले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली सांसद पदमा बस्नुकाे औचित्य नभएकाे बताएका छन् । पटक-पटक प्रतिनिधि सभा विघटन गरेकाे र प्रतिनिधिसभामा बारम्बार परमादेशकाे अपमान गरेको भन्दै उनले राजीनामा गर्न ओलीलाई आग्रह गरेका हुन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद यादवले भने, 'संविधान लेख्ने, सही भन्ने र उत्सव मनाउनेले संविधानको आफूखुसी प्रयोग गर्ने काम रोक्दा परमादेशबाट आएको हो भन्ने ? परमादेश भन्ने पूर्वप्रधानमन्त्री ओलीलाई के आग्रह गर्छु भने यो 'हाउस'मा नआइकन राजीनामा गर्न आग्रह गर्छु । चुनाव लडे भइहाल्छ ।'
यादवले परमादेशबाट आएको संसद् भन्ने सांसदहरूलाई पनि राजीनामा गर्न र उपनिर्वाचनबाट जितेर आउन चुनौति दिए । जनताबाट निर्वाचित भएका आफूहरूलाई परमादेशबाट आएको भनेर जनमतको अपमान गरेकाे बताए ।