जेठ ०६, २०८१, आइतबार
               

केन्द्रीय कमिटी बैठक स्थगित गरेर एमाले नेताहरू अनौपचारिक छलफलमा

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

पार्टी एकताको प्रयासस्वरूप नेकपा एमालेको दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर विघटित कार्यदलका सदस्यहरूले आज सहमतिको प्रयास गर्ने भएका हुन् । 

यसअघि, नेपाल समूहले सङ्गठनात्मक गतिविधि रोक्न आग्रह गरे पनि एमाले संस्थापन पक्षले अस्वीकार गरेको थियो  । शुक्रबार स्थायी कमिटी सदस्यहरूसहितको अनौपचारिक छलफलपछि प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको कुनै पनि नियमित काम नरोक्ने बताएका थिए ।

तर, माधव नेपाल पक्षका उपाध्यक्ष भीम रावलले शनिबार अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि आजको केन्द्रीय कमिटी बैठक स्थगित भएको हो । १० बुँदे सहमति गरेको विघटित कार्यदलका सदस्यहरूबीच आइतबार पनि छलफल हुन लागेको हो । 

बिहीबार र शुक्रवार बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले १० बुँदेलाई आधार मानेर एकता गर्ने निर्णय गरेको थियो । 

पार्टी एकता गर्ने माधव नेपाल पक्षको निर्णयलाई सकारात्मक भन्दै दोस्रो तहका नेताहरूले छलफल गर्न लागेका हुन् । 

कार्यदलका एक सदस्यले आफूहरू निरन्तर छलफलमा रहेको र आज भेटेरै कुरा गर्ने तयारी भएको बताए । विधान अधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले संस्थापन पक्षले आजका लागि राखेको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

सरकारले पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउने काम गरिरहेका वेला सङ्गठनात्मक गतिविधि रोक्न नसकिने एमाले संस्थापन पक्षले बताएको छ । संस्थापन पक्षले महाधिवेशन तयारीलगायत विषयमा छलफल गर्न २४ साउनमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । विधान महाधिवेशनबाट संशोधन गर्नुपर्ने विधानका विभिन्न पक्षबारे प्रारम्भिक छलफल सुरु भएको नेताहरू बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि