जयसिंह धामी, सर्वप्रथम नेपाल आमालाई लक्षित गरी सिमानामा काटिएको विस्तारवादको धारिलो करौँतीको सामना गर्दै आफ्नो तिमिले ज्यान महाकालीमा फाल्नुपरेको अवस्थाप्रति शोकाकुल छु । महाकालीमा तुइन तर्ने क्रममा रुखमा बाँधेको तुइनको फलामे डोरी भारतीय एसएसबीले फुकालिदिएपछि तिमी महाकालीको उर्लँदो भेलमा खस्न पुग्यौ । अवस्था अहिलेसम्म अत्तोपत्तो छैन । सायद तिमी जीवितै भेटिने छैनौं । यही अनुमानस्वरूप परिवारले कुशको आकृति बनाएर हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिसकेका छन् । तिमी बगेपछि श्रीमतीको सिउँदो पुछियो । छोराछोरी टुहुरा भए । वृद्ध बाबुआमा सहाराविहीन भएका छन् ।
तिमीजस्तै दार्चुलालगायतका सीमा क्षेत्रका नागरिकहकहरु बर्दीविनाको सिपाही भएर जन्मभूमिका पल–पल लडिरहनुपर्छ । भारतीय सीमा सुरक्षा बलसँग दिनहुँ पौठेजोरी खेलिरहनुपर्छ । हिजो कञ्चनपुरमा सीमा रक्षार्थ खटिँदा गोविन्द गौतम सहिद भए । नेपाल आमालाई लक्षित गरी सिमानामा हानिएको विस्तारवादको गोली आफ्नो छातीले रोक्ने उनको साहसिक कार्य इतिहासको महान् पराक्रम हो ।
हिजो बाँधकै विषयमा सप्तरीमा देवनारायण यादवले भारतीयहरुसँग आफ्नो ज्यानको बाजी थापे । पूर्व झापादेखि पश्चिमको कञ्चनपुरसम्म हरेक दिन सीमा क्षेत्रका कयौँ देवनारायण र गोविन्दहरू कहिले भारतीय नागरिक त एसएसबीसँग भिड्न बाध्य छन् । सुदूरपश्चिमको सीमा जोडिएका कञ्चनपुरदेखि दार्चुलासम्मका बासिन्दाहरू एसएसबीको हातबाट काल निम्त्याईरहेका छन् ।
भारतले देखाएको यस्तो क्रूरता प्रवृत्ति आज मात्रै होइन, इतिहासको कालखण्डमा कयौँपटक देखाएको छ । सीमा क्षेत्रमा भएका अत्याचार त सामान्य हुन् । सीमा काटेर नेपालीको घरमा प्रवेश गरी खानतलासी लिने घटना सामान्य झैँ बनिसकेका छन् । देशका ७० भन्दा बढी ठाउँमा सीमा मिचिएका छन् । सिमानामा बाँध निर्माण गरी कयौँ बिगाहा जमिन र बस्ती नै डुबाइदिएको छ । घिनलाग्दो हर्कत स्वाधीन र स्वाभिमान नेपालीले बिर्सन सकेका छैन ।
तर, स्वाभिमान नेपालीको चित्त त्यति बेला दुख्छ, जति बेला नेपालको गाउँ गाउँमा गैर कानुनी ढङ्गले प्रवेश गरेको भारतीय सेना विना कुनै कारबाही सकुशल भारत पुर्याइन्छ । सार्वभौमशक्ता सम्पन्न नेपालीले आफ्नै देशका शासकदेखि तब आक्रोश पोख्छन्, जब आफ्नै सीमा मिच्दा समेत भारतसँग प्रश्न गर्न सक्दैन ।
यदि त्यतिबेलै सरकारले यी विषयमा भारतलाई प्रश्न गर्दै समाधान खोजेको भए आज नेपाली युवालाई भारतीय सुरक्षाकर्मीले महाकालीमा हुल्ने थिएनन् होला । जयसिंह धामी मातृभूमिबाट परदेश जाँदा महाकालीमा भारतीय सेनाले तुइन काटिदिएर इहलीला लिन सक्ने थिएनन् होला ।
तर, विडम्बना, देशको सीमा र सीमामा बस्ने नागरिकका लागि न त सरकार छ न सरकारी निकाय । सिंहदरबार र बालुवाटारको चौघेराभित्र आसीन सरकार कुर्सी कसरी टिकाउने भन्ने खेलमा मात्रै सीमित छ ।
जयसिंह धामी मातृभूमि र परदेशको सीमामा बग्ने नदीमा भारतीय सुरक्षा फौजले तिमीलाई हुलिरहँदा सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको थियो । विस्तारवादीको आराले तिमी चढेको तुइन काटिरहँदा सरकारले भने सारङ्गी रेटेको धुन सुनिरहेको थिए । तिमी महाकालीमा खसेर बाँच्ने आशाका साथ गुहार माग्दा सरकारलाई मिठो आवाज लागिरहेको थियो । सरकार त्यति बेला भागण्डामा तँछाडमछाड थियो । सत्ता स्वादमा रुमल्लिएको सरकार काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई कति कति मन्त्री दिने भन्ने भागबन्डामै थियो । जयसिंह धामी तिमी महाकालीमै विलीन भएको साँझ मन्त्रिपरिषद् विस्तार हुने खुसीयालीमा बालुवाटारमा डिनर पार्टी चलिरहेको थियो ।
जयसिंह धामी, एसएसबीले यो कुकर्म गरेको हो । धेरै जना साक्षीहरू छन् । यो मानवताविरुद्धको अपराध हो । घटनाको तथ्य सार्वजनिक गर्नै पर्छ । दोषीलाई कारबाही हुनैपर्छ । परिवारलाई उचित क्षतिपूर्ति दिनैपर्छ । देशको सिमानाका आएर छिमेकी देशका सेनाले आफ्ना नागरिकको प्राण लिँदा यता सरकारले भने फगत लोक रिझाइका लागि मात्रै औपचारिकता दिएको देखिन्छ । समिति गठन गरेर औपचारिकता पुरा गरेको सरकारले भारतसँग भने प्रश्न सोध्ने आँट समेत गरेको छैन ।
जयसिंह धामी, तिम्रा कैयौँ साथीहरू प्रत्यक्षदर्शी हुँदा–हुँदै, तुइन काटेको आरा लिएर हिँडेका सुरक्षाकर्मीको तस्बिर देख्दादेख्दै पनि सरकार भने उल्टो हत्याराकै बचाउमा छ । गृहमन्त्रीले समेत सदनमा निरीह भएर घटनाबारे भारतको नामै लिएनन् । तुइन कसरी, कसले चुँडायो नभनेरै नभनिकनै तुइनबाट खसेको मात्रै भनिदिए । अहिलेको सरकारको नेतृत्वमा डडेलधुराका शेरबहादुर देउवा छन् । छिमेकी जिल्ला दार्चुला घटनाले डडेलधुरालाई दुख्ला भन्ने लागेको थियो । तर, अहँ सत्ताको स्वादको सामु एक निरीह मामुली जनताको हिसाब कहाँ हुँदो रहेछ र ?
प्रत्यक्षदर्शीहरूको बयान र जयसिंह धामीको परिवारले किटानी जाहेरी दिइसकेका छन् । तर सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध जनाउनसमेत सकेको छैन । उल्टै प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिनको नाटक गरेर घटना साम्य पार्ने प्रयास गरिरहेको छ । गृह मन्त्रालयले उल्टै यस विषयमा नबोल्न चेतावनी दिएको छ । हुन त यसअघिको नाकाबन्दीमा पनि ‘भारतले गरेको’ भन्न नसक्नेहरूले के भारतसँग प्रश्न सोध्ने ल्याकत राख्न सक्थे र । लाचार, विदेशी प्रभुसँग लम्पसार सरकार, अब जवाफ पाउँ, नेपाली जनताले प्रश्न सोध्न अब कहाँ जाने ?
नेपालस्थित भारतीय राजदूतबाट घटनाबारेमा स्पष्टीकरण सोध्नुपर्छ । नागरिकको हत्याप्रति उदासीन रहने हो भने आगामी दिनमा यस्ता कार्य र प्रवृत्ति दोहोरिइरहने छन् । जयसिंह धामी तिमीले न्याय पाउने छौंनौं । स्वर्गमा तिम्रो आत्मा पटक–पटक जल्नेछ । म राज्यस्तरबाट तिम्रो हत्यारालाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु । सरकारको चेत अब पनि नखुल्ने हो भने नागरिकप्रति जनताको कर खाएर बसेका शासकहरूलाई शासन गर्ने अधिकार हुनेछैन ।
तर, सरकार सत्य तथ्यको छानबिन गर्ने गरी आफ्नो आधिकारिक धारणा बाहिर ल्याउनसमेत हच्किएको छ । आखिर किन ? तिमीले के अपराध गरेका थियौ, जयसिंह धामी ? सरकार र मौन राजनैतिक दलसँग प्रश्न छ, सीमा क्षेत्रमा एसएसबी र सिंहदरबारमा लैनचौरको दबदबा कहिलेसम्म ? कहिले आउँछ देशको सिमाना र नागरिकको रक्षा गर्ने प्रतिबद्धता ?
अन्तमा,
तिम्रो आत्माको चिर शान्तिको कामना गर्दछु । जयसिंह धामी अलबिदा ।