काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासल ललितपुरमा जारी बैठकमा उपाध्यक्ष वामदेव गाैतम पनि सहभागी भएका छन् ।
हिजो (शनिबार) को बैठकमा पनि पुगेका गाैतम एकैछिन बसेर निस्किएका थिए ।
पार्टी एकताको पहल गर्न भन्दै शनिबार केहीबेर बसेर स्थगित भएको बैठक आज (आइतबार) बसेको हो ।
आजको बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
बैठकमा एमालेभित्र जारी विवाद समाधानका लागि भन्दै गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्तावबमोजिम विभिन्न आयोग गठन, केन्द्रीय विभागहरुको पूर्णता र प्रदेश कमिटीहरुको अनुमोदनबारे छलफल हुनेछ ।
यसअघि शनिबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी थिएन । आजको बैठकमा पनि नेपाल पक्ष अनुपस्थित छ ।