बैशाख २४, २०८१, सोमबार
               

महाकालीमा युवा बेपत्ता घटनाबारे सरकार मौन, भारतलाई ध्यानाकर्षण गर्न सकेन
जानकार भन्छन् – ‘देउवा सरकार भारतको ज्यादती सहन तयार देखियो’

ADVERTISEMENT

भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा दार्चुलामा एक व्यक्ति महाकाली नदीमा बेपत्ता भएको घटना बारेमा परराष्ट्र मन्त्रालयले जानकारी नभएको बताएको छ । न्यूनतम मानवीय संवेदना पनि नराखी गराएको यो घटना लुकाउन प्रयास भएको भन्दै स्थानीय आक्रोशित भइरहँदा घटनाको विषयमा आधिकारिक धारणा बाहिर नल्याएको परराष्ट्र मन्त्रालयले यस विषयमा थाहा नभएको भन्दै मौन छ ।

भारतीय सीमा सुरक्षा बलले तुइन काट्दा शुक्रवार दार्चुलाका युवा जहसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । गृह मन्त्रालयले भने यस विषयमा अनावश्यक टिका टिप्पणी नगर्न भनिरहँदा बाह्य देशसँग सम्बन्धी विषयमा जानकारी राख्ने मन्त्रालय परराष्ट्रले भने बाहिर समाचार सुने पनि यस विषयमा थप जानकारी नआएको भन्दै कुनै प्रतिक्रिया दिएको छ्रैन । 

तुइनको भरमा भारतको बाटो हुँदै जिल्ला सदरमुकाम जान बाध्य नेपाली युवा बेपत्ता भएको विषयमा सरकार आन्तरिक छानबिनमै रहेकोले अनावश्यक हल्ला नगर्न गृह मन्त्रालयले शनिवार सचेत गराएको छ । घटना भारतीय पक्षबाटै भएको र घटना लुकाउन प्रयास भएको भन्दै दार्चुला बासिन्दाले सत्य तथ्य अनुसन्धान गर्न र एसएसबीका सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेपछि गृहले घटनाबारेमा अहिल्यै केही नबोल्न चेतावनी दिएको छ । तर घटना कसरी भयो भन्ने विषयमा छानबिनमै रहेको भन्दै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालय भने अझै मौन छ । 

भारतीय सीमा सुरक्षा बलकै कारण नेपाली युवा महाकालीमा बेपत्ता हुँदासमेत भारतलाई ध्यानाकर्षण गर्न नसकिरहेको सरकारले घटनाको बारेमा समेत आफ्नो धारणा राख्न सकिरहेको छैन ।

सेवा लम्सा, प्रवक्ता, परराष्ट्र मन्त्रालय परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाल फ्ल्याससँग भनिन् ‘तुइनबाट महाकाली नदीमा खसेर युवक बेपत्ता भएको खबर समाचार माध्यमबाट सुने देखेका छौँ, तर घटनाको विषयमा हामी कहाँ औपचारिक जानकारी आएको छैन । यस कारण हाम्रो केही धारणा छैन ।’ परराष्ट्र मन्त्रालय तहबाट अहिलेसम्म घटनाबारे छानबिनका लागि भारतसँग आग्रह नभएको समेत उनले बताइन् ।

 

स्थानीयको दबाबपछि समिति गठन

घटनाबारेमा भने गृह सचिवको नेतृत्वमा छानबिन समिति बनेको छ । नदी तर्दातर्दै तुइन काट्ने भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि सरकार समिति बनाउन बाध्य भएको हो । स्थानीयले कारबाही गर्न माग गरेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र पठाउँदै घटनाको छानबिन गर्न आग्रह गरेको छ । 

प्रशासनले पनि तुइनको डोरी खोल्न खोज्दा दुर्घटना भएको बेहोराको पत्र पठाएको छ । जबकि एसएसबीले तुइन काटेको फोटो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ । घटनाका प्रत्यक्षदर्शीले विभिन्न सञ्चारमाध्यम घटनाबारेमा जानकारी दिन थालेपछि गृहले चेतावनी शैलीमा विज्ञप्ति प्रकाशन गर्नुलाई आश्चर्यको रुपमा हेरिएको छ ।

हाल परराष्ट्र मन्त्री नभएकाले त्यसको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले लिएका छन् । घटना लगतै गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।  तर स्थानीयको भनाई र पत्रपत्रिकामा देखिएको तस्बिरका आधारमा घटनामा भारत दोषी रहेको देखिएकाले केही नबोल्न देउवाले निर्देशन दिएको स्रोतको दाबी छ । 

स्रोतले भन्यो ‘यो जघन्य अपराधमा भारत दोषी देखिँदादेखिँदै सरकार केही नबोल्नु र आम जनतालाई समेत टीकाटिप्पणी नगर्न चेतावनी दिँदै गृहलाई विज्ञप्ति निकाल्न लगाउनु भनेको भारत परस्त हो । काँग्रेस भर्खरै सत्तामा गएकाले भारतलाई चिढाउन चाहँदैन । यसबारेमा चुपचाप बसेका हुन सक्छन् ।’

तुइनबाट महाकाली नदीमा खसेर युवक बेपत्ता भएको घटना छानबिन गर्न तीन वटा सुरक्षा निकायका अधिकारी घटनास्थलमा गएका छन् । सत्य तथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल गण नम्बर–४४, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयको टोली घटनास्थलमा गएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि