बैशाख २५, २०८१, मंगलबार
               

जेठ २ गते अघिको अवस्थामा जाने भनिसकेपछि सबै विवाद सकियो : भीम रावल

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी अन्तरविरोध समाधान गर्न विघटित कार्यदलका सदस्य नेताहरूले आइतबार छलफल गरेका छन् । पार्टी एकताका लागि दबाब दिन भन्दै कार्यदलका सदस्यहरूले आइतबार एमालेका सांसद्हरूसँग छलफल गरेका हुन् ।

सांसदहरूले एमाले विभाजन गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै शीर्ष नेताहरूलाई हस्तक्षेप गरेर भए पनि पार्टी एकता बचाउनुपर्ने दबाब दिएका थिए । त्यस अवसरमा बोल्दै कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष भिम रावलले पार्टीभित्र देखिएको तिक्तता र अन्तरविरोध समाधान नगर्ने हो भने धेरै अप्ठ्यारा आउने बताए । उनले भने, 'हाम्रो बीचमा तिक्तता अन्तरविरोध समाधान नगर्ने हो भने धेरै अप्ठ्यारा हुनेछन्  । हिजो जे जति कमजोरी भए त्यसको समयक्रमअनुसार समीक्षा गरौंला ।' अभियानलाई अझ फराकिलो बनाएर लैजान सांसदहरूलाई सुझाव दिँदै आफू पनि एकताका लागि अग्रसर भएको रावलले बताए । 

पार्टीको दुई पक्षका बिचमा लड्ने भने पनि पार्टी २०७५ जेठ २ गते अघिको अवस्थामा जाने भनिसकेपछि सबै विवाद सकिएको नेता रावलले बताए । उनले यतिधेरै सहमति भइसकेपछि अब विवाद गर्ने विषय नै नभएको समेत बताए । 'यति धेरै सहमति भइसकेपछि अब हामीले के का लागि विवाद गर्ने ? के का लागि मतभेद गर्ने ? सिद्धान्तका लागि मतभेद गर्ने हो भने जनताको बहुदलीय जनवादका बारेमा कसैले प्रश्न उठाएको देखिँदैन', नेता रावलले भने, 'कार्यक्रममा विवाद छ भने समाजवाद प्राप्तिका लागि दलाल पूँजीपति वर्गविरुद्ध सङ्घर्ष गर्दै जाने भन्ने अठोटमा कसैले बहस गरेको देखिँदैन । नीतिको कुरा गर्ने हो भने हाम्रो स्वतन्त्र परराष्ट्र नीति, सामाजिक नीतिको बारेमा कुनै विवाद गरेको पाइदैन । समावेशी लोकतन्त्र, समानता, न्यायका लागि लड्ने हाम्रो पार्टीको प्रश्न हो त्यसमा पनि प्रश्न छैन । केहीमा पनि प्रश्न छैन भने के भनेर लड्ने ?'

उनले पार्टीको आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा पार्टीमा थप केन्द्रीय सदस्य थपका लागि पनि कार्यदलले काम गर्ने उल्लेख गरे । कतिपय विषयहरूमा चित्त नबुझ्दा नबुझ्दै पनि भोलिका आउने दिनेहरूलाई हेरेर सङ्गठनहरू क्रियाशील भएपछि कमी कमजोरीलाई हटाएर अघि बढ्न सकिने भएकोले समझदारी गरेको नेता रावलले बताए ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पार्टी एकताका लागि गठित कार्यदलले सर्वसम्मतिले १० बुँदा तयार पारेको बताए । 'हामीले सर्वसम्मत रुपमा निष्कर्ष निकालेर सहमति गरेका हौं । व्यक्तिको कुरा गर्दा कतिपयलाई चित्त नबुझ्न सक्छ', नेम्वाङले भने । 
 


कस्तो लाग्यो ?

यो पनि