काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने भएको छ ।
आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो ।
‘गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने बारेमा छलफल भयो’, बैठकमा सहभागी जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए ।
गठबन्धनका नेताहरूले पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप सबै जनतालाई उपलब्ध गराउने प्राथमिकता बनाउन र त्यसका लागि अनुदानको मात्रै भर नपरी खरिद गर्नुपरे गर्न समेत सुझाव दिएको उनले बताए ।
त्यस्तै गठबन्धनको बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा सामान्य छलफल भए पनि विस्तृतमा छलफल नभएको बताइएको छ ।
बैठकमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित जसपाका उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवा सहभागी थिए ।